Monday, July 27, 2015

चट्यांग पर्ने कारण र यसबाट जोगिने उपायहरु- गौतम “उदय”


July 18, 2015
 0 0 0 0३ पटक
यो ब्रमाण्डमा भएका संपूर्ण बस्तुहरु एकदम साना-साना परमाणुका तत्वहरु (atoms) मिलेर बनेका हुन्छन् | हालसम्म ११७ प्रकारका तत्वहरु प्रमाणित भैसकेका छन भने ४ वोटा नयाँ पनि पत्ता लागेका छन तर प्रमाणित हुन बाँकी छ | संसारका सम्पूर्ण ठोस, तरल तथा ग्यास बस्तुहरु यिनै ११७ प्रकारका तत्वहरुको बिभिन्न संयोजनबाट बनेका छन् |
सबैभन्दा सानो अणु (molecule) मा पनि कम्तिमा २ वोटा परामणु हुन्छन् जस्तै:- हाइड्रोजन (H2) मात्र २ वोटा उस्तै परमाणु मिलेर बनेको छ | कार्बन डाइअक्साइड (CO2 ) नामक अणुमा एउटा कार्बनको परमाणु र दुईवोटा अक्सिजनका परमाणु गरी ३ वोटा परमाणु तत्वको मिलन छ |
gautam udaya
गाैतम उदय
यी सबै प्रकारका परमाणुहरुमा प्रोटोन (protons), इलेक्ट्रन (electrons) र न्युटन (neutrons) नामका ३ प्रकारका बिद्दुतीय गुणहरु हुन्छन् | इलेक्ट्रन, प्रोटन र न्युटनको संख्या पनि धेरै हुन्छ अनि यिनीहरु धेरै प्रकारबाट एक-आपसमा फरक हुन्छन् | उदाहरणको लागि प्रोटन धनात्मक हुन्छ, इलेक्ट्रन ऋणात्मक हुन्छन् भने न्युटनमा जिरो चार्ज हुन्छ | प्रोटन र न्युटन परमाणुको केन्द्रमा जोडिएर रहेका हुन्छन्, जसलाई परमाणुको केन्द्र भाग (nucleus) भनिन्छ | इलेक्ट्रनहरु यही केन्द्रभागको वरिपरि नक्षत्र (orbit) मा घुमिरहन्छन् |
बस्तु हलचल नगर्दा उक्त बस्तुमा हुने इलेक्ट्रन र प्रोटन को संख्या बराबर हुन्छ | तर जब बस्तु हलचल गर्दछ अथवा अर्को बस्तुसंग रगडिन्छ वा घोटिन्छ, उक्त बस्तुमा हुने बिबिध अणुका इलेक्ट्रन अर्को अणुमा सर्छन् | यसरी थप इलेक्ट्रनहरु प्राप्त गर्ने अणुमा ऋणात्मक अथवा माइनस चार्ज बढी हुने भएकोले उक्त अणु ऋणात्मक हुन्छ भने जुन अणुबाट इलेक्ट्रनहरु अर्कोमा सर्छन्, त्यस अणुमा प्रोटन को संख्या बढी हुने भएकोले उक्त अणुमा प्लस चार्ज बढी हुन्छ अथवा धनात्मक हुन्छ | यसरी एउटा अणुबाट अर्को अणुमा इलेक्ट्रन सरेर यिनीहरुको गतिबिधि बढ्ने र चार्ज हुने प्रक्रियालाइ स्ट्याटिक चार्ज भनिन्छ |
कपालमा काइंयो वा बेलुन घोटी केही साना चिजको नजिक लैंजांदा त्यस्ता चिज काइंयोतर्फ वा बेलुनतर्फ आकर्षित हुनु अथवा बेलुन भित्तामा टाँसिनुको कारण कपालका इलेक्ट्रोन यिनीहरुमा सारेकोले हो | जाडोमा स्वीटर खोल्दा वा दुईवोटा फलाम तथा ढुंगा ठोकाउँदा झिल्दा देखिनु, जाडोमा कारबाट ओर्लिन ढोका खोल्दा झड्का लाग्नुको कारण पनि त्यस्तै हो | यो साना चिजहरुमा हुने थोरै इलेक्ट्रोनको थोरै समयको गतिबिधि भएकोले स्ट्याटिक चार्जको सानो प्रभाब भयो, तर धेरै चिजको, लामो समयसम्मको र ठुलो शक्तिको यस्तो घोटिने ठोकिने प्रक्रिया भैरह्यो भने बिशाल स्ट्याटिक चार्ज र बिद्दुत उत्पन्न हुन्छ |
अब यही कुरालाई चटयाङसंग जोडौं | आँखाले नदेखिए पनि, गन्ध थाहा हुन नसके पनि हावामा बिभिन्न ग्यासहरू, धुलो र पानीका असंख्य कणहरु हुन्छन् | हावाको पनि दायाँबायाँ, तलमाथि गरिरहने लहर अथवा छाल हुन्छ | गर्मीमा जमिन तातेपछि, जमिन नजिकको हावा पनि बिस्तारै तात्दै जान्छ | हावाको विशेषता नै यस्तो हुन्छ की तातेको हावा माथिमाथि अकासिंदै जान्छ अनि त्यसको ठाउँ चिसो हावाले लिन्छ |
यसरी तातो हावा माथि जाँदै गर्दा हावामा हुने पानीका कणहरु चिसिएर बादलमा बदलिन्छन्, अनि बादल पनि जम्मा हुँदै बाक्लो हुँदै अझै आकासिंदै जान्छ | चिसिनुको कारण केहो भने समुद्र सतहबाट जतिजति माथि गयो बातावरण पनि त्यतित्यति चिसो हुँदै जान्छ र हावा पनि पातलो हुँदै जान्छ | हिमालमा हिंउ रहिरहनु, हिमाल चड्दा सास फेर्न गाह्रो हुनु पनि यस्तै कारणहरु हुन | जेट प्लेन उड्ने उचाइमा त माइनस ६५ डिग्री सेल्सियससम्म चिसो हुन्छ वायु-मण्डल |
सबैखाले बादलले पानी पर्दैन | कतिपय बादल आकासमै बिलाएर पनि जान्छ तर ठुलो पानी पार्ने, बिजुली चम्कने र चटयाङ पार्नेखाले बादल हजारौं किलोमिटरसम्म पनि फैलिन सक्छ, अनि कैयौं किलोमिटर बाक्लो हुन्छ | जब बाक्लो बादलको आकास पट्टिको भाग जिरो डिग्रीभन्दा चिसो हुने उचाइमा पुग्दछ, उक्त बादलमा भएका पानीका कणहरु जम्छन् |
जमेपछि पनि उक्त हिउँ तथा बरफका कण भरिएको बादललाई हावाले उडाएकै हुन्छ, हुत्त्याएकै हुन्छ, कतिपय कण तल-तल झारिरहेका हुन्छन्, कतिपय माथि गैरहेका हुन्छन, ठोकिन्छन् फुट्छन, फेरि जम्छन् आदिआदि | यस प्रक्रियालाई विज्ञानमा updraft र downdraft भनिन्छ | आखिर यी हिउँ, बरफ, धुलो आदिका अणुहरु पनि परमाणुहरु मिलेर नै बनेका हुन्छन् | त्यसैले यिनीहरुमा पनि इलेक्ट्रन, प्रोटन र न्युटन हुन्छन् नै |
जब यस्ता जमेका असंख्य कणहरु तथा यस्ता कणहरु बोकेका बादलहरु एकापसमा ठोकिन्छन, अथाहा स्टाटिक चार्ज हुन्छ र एकदमै धेरै बिद्दुत उत्पन्न हुन्छ | यो ठोकिने क्रम कपालमा काइंयो घोटे जस्तै एक पटकमात्र हुने त होइन, हजारौं लाखौ पटकसम्म भैरहन्छ आकासमा | अनि त जति धेरै पटक ठोकिन्छ, र जति जोडले ठोकिन्छ बिद्दुत चार्ज पनि बढ्दै बढ्दै गएर संपूर्ण बादलमा फैलिन्छ |
यसरी फैलिने क्रममा इलेक्ट्रनहरु पृथ्वीतर्फको बादलको भागमा जम्मा हुँदै जान्छन् भने प्रोटनहरु आकास तर्फको बादलको भागमा जम्मा हुँदै जान्छन् | बिशालमात्रामा इलेक्ट्रन र प्रोटन निश्चित बादलमा जम्मा भएपछि, तिनीहरुको बिचमा ठुलो बिद्दुत शक्ति उत्पन्न हुन्छ, जसलाई polarization भनिन्छ |
किन polarization हुन्छ भन्ने तथ्य अझसम्म प्रमाणित भएको छैन | यस किसिमले पटकपटक बिद्दुत चार्ज र उत्पन्न हुने प्रक्रियालाई हाम्रो भाषामा बिजुली चम्कनु भन्छौं | बास्तबमा त्यो बिजुली चम्केको नभई बिजुली चार्ज तथा जम्मा भएर लहराको रुप धारण गरेर बहेको हो | यस्तो बेलामा आकासमा बादलको बिचमा हजारौं पटक हजारौं बिद्दुतका लहरा बन्दछन् |
चटयाङ धेरै प्रकारका हुन्छन र प्राय बादलहरुको बिचमा हुन्छन्, तर कहिले काहीं जमिन र आकासको बिचमा पनि हुन्छन्, जुन हाम्रोलागि खतरा हुन्छ ।
बिद्दुत चार्जको विशेषता बिपरित चार्जमा आकर्षण हुने र उस्तै चार्जमा विकर्षण हुने हुन्छ | सरल अर्थमा भन्नु पर्दा माइनस-माइनस अथवा प्लस-प्लस बिद्दुतकका चार्जहरु एकापसबाट टाढा भाग्छन् भने माइनस र प्लस भएमा एकापसमा आकर्षित भई चार्ज हुन्छन् | तर यहाँ एउटा प्लस र एउटा माइनस अथवा केही जोडिएर बिद्दुत चार्ज हुने कुरा बुझ्नु हुँदैन | चार्ज हुनलाई त असंख्य प्लस र असंख्य माइनस कुनै एउटा माध्यममा जम्मा भै त्यसैको बाटो हुँदै हिंड्ने हो |
बिजुलीको तार पनि बिजुली हिंड्नलाई बनाइएको बाटो न हो | काठ, कागज, प्लास्टिक, तथा सुक्का हावामा बिद्दुत खासै बहन नसक्ने भएकोले यस्ता बस्तुलाई बिद्दुत कुचालक (insulator) भनिन्छ भने धातु, तरल पदार्थ, जीव, बनस्पती आदिमा बिद्दुत सजिलै बहन सक्ने भएकोले यिनीहरुलाई बिद्दुत सुचालाक (conductor) भनिन्छ | सुचालकको अर्थ यस्ता चिजहरु बिद्दुत सजिलै बहन सक्ने राजमार्ग जस्तै भन्ने हो |
जमिमा पनि त बिशाल प्लस माइनस चार्जहरु हुन्छन् किनकि जमिन र यसमा हुने सबै बस्तुहरु पनि त एटमहरुले नै बनेका हुन्छन् | फलत ढुंगा, माटो, बिरुवा, घर लगायतका जमिनका यावत बस्तुहरुमा पनि प्रोटन (protons), इलेक्ट्रन (electrons) र न्युटन (neutrons) नामका ३ प्रकारका बिद्दुतीय गुणहरु हुन्छन् नै |
जब बादलको जमिनतर्फको भागमा अथाहा माइनस कण जम्मा हुन्छन, तिनको समूह जमिनका प्लस चार्जहरुतर्फको समूहसंग जोडिन जमिन तर्फ आकर्षित भैरहेका हुन्छन् अनि जमिनका प्लस चार्जहरु पनि आकासका माइनसतर्फ आकर्षित भै बहन सजिलो हुने मानिस, रुख, भवन, पहाड आदिको वोरिपरी जम्मा भै यस्ता बस्तु हुँदै बादलका माइनससंग जोडिन जमिन भन्दा केही मिटर माथिसम्म पुगी तम्तयार भएर बसेका हुन्छन् |
त्यसैले बादलबाट आउने माइनस चार्जको लहरो पहिले रुखमा जोडिए रुख भाँचिन्छ, प्राणीमा परे प्राणी खुस्किन्छ | त्यही हो चटयाङले हिर्काउने भनेको | ठुल्ठुला चटयाङ पर्दा त सूर्यको सतहको भन्दा करिब ६ गुना बढी ताप अर्थात् ३०,००० डिग्री सेल्सियससम्मको ताप उत्पन्न तथा जम्मा भएर बहन्छ |
एकथरी मान्छेमा चटयाङ पर्दा हलोको फाली जस्तो धातुको बस्तु खस्छ भन्ने धारणा छ, त्यो सत्य होइन | अर्काथरी मान्छेमा ठुलो आवाज जहाँ खस्छ त्यही नै चटयाङ पर्छ भन्ने धारणा छ | यो कुरा केही मात्रामा ठिक हो तर भन्ने तरिका गलत हो |
तथ्य केहो भने जब बादलबाट माइनस चार्जको बिसाल लहरो पृथ्बीमा आउंछ, यो एउटा कुलो जस्तो बाटो बनाएर आउँछ | पृथ्वीमा झरेपछि सिद्धिन्छ | आखिर आकासबाट आउने यस्तो बिद्दुत कुनै जलबिद्दुत केन्द्र वा आणविक भट्टीबाट लगातार आएजस्तो आइराख्ने त होइन ! चार्ज भयो, आयो, सिद्धियो | जब यस्तो बिद्दुत जमिनमा जान्छ, त्यो बिद्दुत आएको कुलो रित्तो बन्दछ | अनि त्यो रित्तो कुलोको भाग ओगट्न दायाँबायाँका चार्ज बोकेका बादल त्यहाँ हामफाल्छन, एकापसमा ठुलो जोडले ठोक्किन्छन् र त्यस्तो ठुलो आवाज आउँछ |
आवाज करेन्ट होइन, आवाजले प्राणी मर्दैन तर बहिरो हुन सक्छ, झ्याल ढोकाका सिसा भने फुट्न सक्छन् | बिजुली चम्केर झिल्लिक गरेको धेरै बेरपछि आवाज आउनुको कारण प्रकाश छिटो हिड्ने र आवाज ढिलो हिड्ने भएकोले हो | प्रकाश १ सेकेन्डमा ९,६०,००० किलोमिटर टाढा पुग्छ पुग्न सक्छ भने आवाज मात्र ३३० किलोमिटर |
चटयाङबाट पूर्ण सुरक्षित त हुन सकिन्न, तर अलिकतिमात्र साबधानी अपनाए धेरै हदसम्म बच्न सकिन्छ |
आफ्नै टाउकोमाथि कालाकाला चुकजस्ता बादलले आकास ढाकी गड्यांगगुडुंग गर्दै बिजुली चम्केको बेला हातधुने, भाँडा माझ्ने, कपडा धुने, नुहाउने, पौडी खेल्ने, नदी तर्ने, फोन कम्पुटर चलाउने, झ्यालढोकाको नजिक तथा छतमा बस्ने गर्नु हुँदैन | घर बाहिर भएमा पनि तुरुन्त बलियो भबन, गाडी आदिभित्र गई झ्याल ढोका बन्द गर्नु सुरक्षित हुन्छ | खालि खुट्टाले जमिन, धातु आदिमा टेक्नु हुँदैन | फलामका कब्जा, चेन भएका ब्याग बोक्नु हुँदैन | तारबार, पोखरी नजिक जानु हुँदैन । ठुलो रुख र अर्को मान्छेभन्दा कम्तिमा १५ फिट टाढा रहनु पर्छ |
अझ आंग जिरिंग भै रौँ ठडिने शरीरमा केही चिजले घोंचे जस्तो महसुस भयो भने त अब छिट्टै चटयाङले हान्दैछ भन्ने बुझी तुरुन्तै टाउकोमाथि हात राखी कुइना र घुंडाले टेकी घोप्टो पर्नु पर्छ | लेट्नु भने हुँदैन त्यसो गर्दा झन् सिधै आफैमाथि पर्न सक्छ |
- See more at: http://nepalsanchar.com/archives/147#sthash.oMfOIyxJ.dpuf