Monday, July 27, 2015

चट्यांग पर्ने कारण र यसबाट जोगिने उपायहरु- गौतम “उदय”


July 18, 2015
 0 0 0 0३ पटक
यो ब्रमाण्डमा भएका संपूर्ण बस्तुहरु एकदम साना-साना परमाणुका तत्वहरु (atoms) मिलेर बनेका हुन्छन् | हालसम्म ११७ प्रकारका तत्वहरु प्रमाणित भैसकेका छन भने ४ वोटा नयाँ पनि पत्ता लागेका छन तर प्रमाणित हुन बाँकी छ | संसारका सम्पूर्ण ठोस, तरल तथा ग्यास बस्तुहरु यिनै ११७ प्रकारका तत्वहरुको बिभिन्न संयोजनबाट बनेका छन् |
सबैभन्दा सानो अणु (molecule) मा पनि कम्तिमा २ वोटा परामणु हुन्छन् जस्तै:- हाइड्रोजन (H2) मात्र २ वोटा उस्तै परमाणु मिलेर बनेको छ | कार्बन डाइअक्साइड (CO2 ) नामक अणुमा एउटा कार्बनको परमाणु र दुईवोटा अक्सिजनका परमाणु गरी ३ वोटा परमाणु तत्वको मिलन छ |
gautam udaya
गाैतम उदय
यी सबै प्रकारका परमाणुहरुमा प्रोटोन (protons), इलेक्ट्रन (electrons) र न्युटन (neutrons) नामका ३ प्रकारका बिद्दुतीय गुणहरु हुन्छन् | इलेक्ट्रन, प्रोटन र न्युटनको संख्या पनि धेरै हुन्छ अनि यिनीहरु धेरै प्रकारबाट एक-आपसमा फरक हुन्छन् | उदाहरणको लागि प्रोटन धनात्मक हुन्छ, इलेक्ट्रन ऋणात्मक हुन्छन् भने न्युटनमा जिरो चार्ज हुन्छ | प्रोटन र न्युटन परमाणुको केन्द्रमा जोडिएर रहेका हुन्छन्, जसलाई परमाणुको केन्द्र भाग (nucleus) भनिन्छ | इलेक्ट्रनहरु यही केन्द्रभागको वरिपरि नक्षत्र (orbit) मा घुमिरहन्छन् |
बस्तु हलचल नगर्दा उक्त बस्तुमा हुने इलेक्ट्रन र प्रोटन को संख्या बराबर हुन्छ | तर जब बस्तु हलचल गर्दछ अथवा अर्को बस्तुसंग रगडिन्छ वा घोटिन्छ, उक्त बस्तुमा हुने बिबिध अणुका इलेक्ट्रन अर्को अणुमा सर्छन् | यसरी थप इलेक्ट्रनहरु प्राप्त गर्ने अणुमा ऋणात्मक अथवा माइनस चार्ज बढी हुने भएकोले उक्त अणु ऋणात्मक हुन्छ भने जुन अणुबाट इलेक्ट्रनहरु अर्कोमा सर्छन्, त्यस अणुमा प्रोटन को संख्या बढी हुने भएकोले उक्त अणुमा प्लस चार्ज बढी हुन्छ अथवा धनात्मक हुन्छ | यसरी एउटा अणुबाट अर्को अणुमा इलेक्ट्रन सरेर यिनीहरुको गतिबिधि बढ्ने र चार्ज हुने प्रक्रियालाइ स्ट्याटिक चार्ज भनिन्छ |
कपालमा काइंयो वा बेलुन घोटी केही साना चिजको नजिक लैंजांदा त्यस्ता चिज काइंयोतर्फ वा बेलुनतर्फ आकर्षित हुनु अथवा बेलुन भित्तामा टाँसिनुको कारण कपालका इलेक्ट्रोन यिनीहरुमा सारेकोले हो | जाडोमा स्वीटर खोल्दा वा दुईवोटा फलाम तथा ढुंगा ठोकाउँदा झिल्दा देखिनु, जाडोमा कारबाट ओर्लिन ढोका खोल्दा झड्का लाग्नुको कारण पनि त्यस्तै हो | यो साना चिजहरुमा हुने थोरै इलेक्ट्रोनको थोरै समयको गतिबिधि भएकोले स्ट्याटिक चार्जको सानो प्रभाब भयो, तर धेरै चिजको, लामो समयसम्मको र ठुलो शक्तिको यस्तो घोटिने ठोकिने प्रक्रिया भैरह्यो भने बिशाल स्ट्याटिक चार्ज र बिद्दुत उत्पन्न हुन्छ |
अब यही कुरालाई चटयाङसंग जोडौं | आँखाले नदेखिए पनि, गन्ध थाहा हुन नसके पनि हावामा बिभिन्न ग्यासहरू, धुलो र पानीका असंख्य कणहरु हुन्छन् | हावाको पनि दायाँबायाँ, तलमाथि गरिरहने लहर अथवा छाल हुन्छ | गर्मीमा जमिन तातेपछि, जमिन नजिकको हावा पनि बिस्तारै तात्दै जान्छ | हावाको विशेषता नै यस्तो हुन्छ की तातेको हावा माथिमाथि अकासिंदै जान्छ अनि त्यसको ठाउँ चिसो हावाले लिन्छ |
यसरी तातो हावा माथि जाँदै गर्दा हावामा हुने पानीका कणहरु चिसिएर बादलमा बदलिन्छन्, अनि बादल पनि जम्मा हुँदै बाक्लो हुँदै अझै आकासिंदै जान्छ | चिसिनुको कारण केहो भने समुद्र सतहबाट जतिजति माथि गयो बातावरण पनि त्यतित्यति चिसो हुँदै जान्छ र हावा पनि पातलो हुँदै जान्छ | हिमालमा हिंउ रहिरहनु, हिमाल चड्दा सास फेर्न गाह्रो हुनु पनि यस्तै कारणहरु हुन | जेट प्लेन उड्ने उचाइमा त माइनस ६५ डिग्री सेल्सियससम्म चिसो हुन्छ वायु-मण्डल |
सबैखाले बादलले पानी पर्दैन | कतिपय बादल आकासमै बिलाएर पनि जान्छ तर ठुलो पानी पार्ने, बिजुली चम्कने र चटयाङ पार्नेखाले बादल हजारौं किलोमिटरसम्म पनि फैलिन सक्छ, अनि कैयौं किलोमिटर बाक्लो हुन्छ | जब बाक्लो बादलको आकास पट्टिको भाग जिरो डिग्रीभन्दा चिसो हुने उचाइमा पुग्दछ, उक्त बादलमा भएका पानीका कणहरु जम्छन् |
जमेपछि पनि उक्त हिउँ तथा बरफका कण भरिएको बादललाई हावाले उडाएकै हुन्छ, हुत्त्याएकै हुन्छ, कतिपय कण तल-तल झारिरहेका हुन्छन्, कतिपय माथि गैरहेका हुन्छन, ठोकिन्छन् फुट्छन, फेरि जम्छन् आदिआदि | यस प्रक्रियालाई विज्ञानमा updraft र downdraft भनिन्छ | आखिर यी हिउँ, बरफ, धुलो आदिका अणुहरु पनि परमाणुहरु मिलेर नै बनेका हुन्छन् | त्यसैले यिनीहरुमा पनि इलेक्ट्रन, प्रोटन र न्युटन हुन्छन् नै |
जब यस्ता जमेका असंख्य कणहरु तथा यस्ता कणहरु बोकेका बादलहरु एकापसमा ठोकिन्छन, अथाहा स्टाटिक चार्ज हुन्छ र एकदमै धेरै बिद्दुत उत्पन्न हुन्छ | यो ठोकिने क्रम कपालमा काइंयो घोटे जस्तै एक पटकमात्र हुने त होइन, हजारौं लाखौ पटकसम्म भैरहन्छ आकासमा | अनि त जति धेरै पटक ठोकिन्छ, र जति जोडले ठोकिन्छ बिद्दुत चार्ज पनि बढ्दै बढ्दै गएर संपूर्ण बादलमा फैलिन्छ |
यसरी फैलिने क्रममा इलेक्ट्रनहरु पृथ्वीतर्फको बादलको भागमा जम्मा हुँदै जान्छन् भने प्रोटनहरु आकास तर्फको बादलको भागमा जम्मा हुँदै जान्छन् | बिशालमात्रामा इलेक्ट्रन र प्रोटन निश्चित बादलमा जम्मा भएपछि, तिनीहरुको बिचमा ठुलो बिद्दुत शक्ति उत्पन्न हुन्छ, जसलाई polarization भनिन्छ |
किन polarization हुन्छ भन्ने तथ्य अझसम्म प्रमाणित भएको छैन | यस किसिमले पटकपटक बिद्दुत चार्ज र उत्पन्न हुने प्रक्रियालाई हाम्रो भाषामा बिजुली चम्कनु भन्छौं | बास्तबमा त्यो बिजुली चम्केको नभई बिजुली चार्ज तथा जम्मा भएर लहराको रुप धारण गरेर बहेको हो | यस्तो बेलामा आकासमा बादलको बिचमा हजारौं पटक हजारौं बिद्दुतका लहरा बन्दछन् |
चटयाङ धेरै प्रकारका हुन्छन र प्राय बादलहरुको बिचमा हुन्छन्, तर कहिले काहीं जमिन र आकासको बिचमा पनि हुन्छन्, जुन हाम्रोलागि खतरा हुन्छ ।
बिद्दुत चार्जको विशेषता बिपरित चार्जमा आकर्षण हुने र उस्तै चार्जमा विकर्षण हुने हुन्छ | सरल अर्थमा भन्नु पर्दा माइनस-माइनस अथवा प्लस-प्लस बिद्दुतकका चार्जहरु एकापसबाट टाढा भाग्छन् भने माइनस र प्लस भएमा एकापसमा आकर्षित भई चार्ज हुन्छन् | तर यहाँ एउटा प्लस र एउटा माइनस अथवा केही जोडिएर बिद्दुत चार्ज हुने कुरा बुझ्नु हुँदैन | चार्ज हुनलाई त असंख्य प्लस र असंख्य माइनस कुनै एउटा माध्यममा जम्मा भै त्यसैको बाटो हुँदै हिंड्ने हो |
बिजुलीको तार पनि बिजुली हिंड्नलाई बनाइएको बाटो न हो | काठ, कागज, प्लास्टिक, तथा सुक्का हावामा बिद्दुत खासै बहन नसक्ने भएकोले यस्ता बस्तुलाई बिद्दुत कुचालक (insulator) भनिन्छ भने धातु, तरल पदार्थ, जीव, बनस्पती आदिमा बिद्दुत सजिलै बहन सक्ने भएकोले यिनीहरुलाई बिद्दुत सुचालाक (conductor) भनिन्छ | सुचालकको अर्थ यस्ता चिजहरु बिद्दुत सजिलै बहन सक्ने राजमार्ग जस्तै भन्ने हो |
जमिमा पनि त बिशाल प्लस माइनस चार्जहरु हुन्छन् किनकि जमिन र यसमा हुने सबै बस्तुहरु पनि त एटमहरुले नै बनेका हुन्छन् | फलत ढुंगा, माटो, बिरुवा, घर लगायतका जमिनका यावत बस्तुहरुमा पनि प्रोटन (protons), इलेक्ट्रन (electrons) र न्युटन (neutrons) नामका ३ प्रकारका बिद्दुतीय गुणहरु हुन्छन् नै |
जब बादलको जमिनतर्फको भागमा अथाहा माइनस कण जम्मा हुन्छन, तिनको समूह जमिनका प्लस चार्जहरुतर्फको समूहसंग जोडिन जमिन तर्फ आकर्षित भैरहेका हुन्छन् अनि जमिनका प्लस चार्जहरु पनि आकासका माइनसतर्फ आकर्षित भै बहन सजिलो हुने मानिस, रुख, भवन, पहाड आदिको वोरिपरी जम्मा भै यस्ता बस्तु हुँदै बादलका माइनससंग जोडिन जमिन भन्दा केही मिटर माथिसम्म पुगी तम्तयार भएर बसेका हुन्छन् |
त्यसैले बादलबाट आउने माइनस चार्जको लहरो पहिले रुखमा जोडिए रुख भाँचिन्छ, प्राणीमा परे प्राणी खुस्किन्छ | त्यही हो चटयाङले हिर्काउने भनेको | ठुल्ठुला चटयाङ पर्दा त सूर्यको सतहको भन्दा करिब ६ गुना बढी ताप अर्थात् ३०,००० डिग्री सेल्सियससम्मको ताप उत्पन्न तथा जम्मा भएर बहन्छ |
एकथरी मान्छेमा चटयाङ पर्दा हलोको फाली जस्तो धातुको बस्तु खस्छ भन्ने धारणा छ, त्यो सत्य होइन | अर्काथरी मान्छेमा ठुलो आवाज जहाँ खस्छ त्यही नै चटयाङ पर्छ भन्ने धारणा छ | यो कुरा केही मात्रामा ठिक हो तर भन्ने तरिका गलत हो |
तथ्य केहो भने जब बादलबाट माइनस चार्जको बिसाल लहरो पृथ्बीमा आउंछ, यो एउटा कुलो जस्तो बाटो बनाएर आउँछ | पृथ्वीमा झरेपछि सिद्धिन्छ | आखिर आकासबाट आउने यस्तो बिद्दुत कुनै जलबिद्दुत केन्द्र वा आणविक भट्टीबाट लगातार आएजस्तो आइराख्ने त होइन ! चार्ज भयो, आयो, सिद्धियो | जब यस्तो बिद्दुत जमिनमा जान्छ, त्यो बिद्दुत आएको कुलो रित्तो बन्दछ | अनि त्यो रित्तो कुलोको भाग ओगट्न दायाँबायाँका चार्ज बोकेका बादल त्यहाँ हामफाल्छन, एकापसमा ठुलो जोडले ठोक्किन्छन् र त्यस्तो ठुलो आवाज आउँछ |
आवाज करेन्ट होइन, आवाजले प्राणी मर्दैन तर बहिरो हुन सक्छ, झ्याल ढोकाका सिसा भने फुट्न सक्छन् | बिजुली चम्केर झिल्लिक गरेको धेरै बेरपछि आवाज आउनुको कारण प्रकाश छिटो हिड्ने र आवाज ढिलो हिड्ने भएकोले हो | प्रकाश १ सेकेन्डमा ९,६०,००० किलोमिटर टाढा पुग्छ पुग्न सक्छ भने आवाज मात्र ३३० किलोमिटर |
चटयाङबाट पूर्ण सुरक्षित त हुन सकिन्न, तर अलिकतिमात्र साबधानी अपनाए धेरै हदसम्म बच्न सकिन्छ |
आफ्नै टाउकोमाथि कालाकाला चुकजस्ता बादलले आकास ढाकी गड्यांगगुडुंग गर्दै बिजुली चम्केको बेला हातधुने, भाँडा माझ्ने, कपडा धुने, नुहाउने, पौडी खेल्ने, नदी तर्ने, फोन कम्पुटर चलाउने, झ्यालढोकाको नजिक तथा छतमा बस्ने गर्नु हुँदैन | घर बाहिर भएमा पनि तुरुन्त बलियो भबन, गाडी आदिभित्र गई झ्याल ढोका बन्द गर्नु सुरक्षित हुन्छ | खालि खुट्टाले जमिन, धातु आदिमा टेक्नु हुँदैन | फलामका कब्जा, चेन भएका ब्याग बोक्नु हुँदैन | तारबार, पोखरी नजिक जानु हुँदैन । ठुलो रुख र अर्को मान्छेभन्दा कम्तिमा १५ फिट टाढा रहनु पर्छ |
अझ आंग जिरिंग भै रौँ ठडिने शरीरमा केही चिजले घोंचे जस्तो महसुस भयो भने त अब छिट्टै चटयाङले हान्दैछ भन्ने बुझी तुरुन्तै टाउकोमाथि हात राखी कुइना र घुंडाले टेकी घोप्टो पर्नु पर्छ | लेट्नु भने हुँदैन त्यसो गर्दा झन् सिधै आफैमाथि पर्न सक्छ |
- See more at: http://nepalsanchar.com/archives/147#sthash.oMfOIyxJ.dpuf

Tuesday, June 30, 2015

यस्तो छ संविधानको मस्यौदा

अन्नपूर्ण |२०७२ असार १४ सोमबार
फोटो :फाइल तस्‍बिर
काठमाडौं : मस्यौदा समितिले तयार गरेको संविधानको पहिलो मस्‍यौदा संविधानसभामा प्रस्तुत भएर जनतासमक्ष जाँदैछ। ३७ भाग र २९६ धारा रहेको मस्‍यौदामा धेरै नयाँ प्रावधान छन् भने केही पुरानै व्यवस्थालाई पनि निरन्तरता दिइएको छ।

नाम र सिमाबिनाका आठ प्रदेश,संवैधानिक राष्ट्रपति र कार्यकारी प्रधानमन्त्रीसहितको शासकीय स्वरुप, दुई सदानात्मक व्यवस्थापिका, संवैधानिक पदाधिकारीको निरन्तरता,तीन तहको केन्द्रीकृत न्याय प्रणाली,स्थानीय निकाय पुर्नसंरचना,बहुलवाद नै नयाँ संविधानको मस्यौदाका विशेषता हुन्। मस्यौदाका केही मुख्य व्यवस्थाहरु यहाँ प्रस्तुत गरिएका छन्। 
 
संघीयताको व्यवस्था
 
सामर्थ्य र पहिचानमा आधारित नाम र सीमा बिनाका ८ प्रदेशको संघीयताको प्रावधान छ। स्थानीय निकायमा जिल्ला सभा, नगरपालिका र गाउँपालिकाको प्रस्ताव गरिएको छ।जाति, समुदाय, भाषा र संस्कृति संरक्षणका लागि कानुनबमोजिम विशेष संरचना निर्माण गर्न सकिने व्यवस्था पनि मस्यौदामा राखिएको छ।
 
प्रदेशको सीमा संघीय आयोगको सिफारिमा रुपान्तरित संसद्ले निर्णय गरेबमोजिम हुने व्यवस्था छ। सरकारले गठन गर्ने संघीय आयोगको कार्यकाल ६ महिनाको हुनेछ। प्रदेशको नाम प्रदेश सभाले नै राख्‍नसक्ने छ भने स्थानीय निकायको नामबारे मस्यौदामा स्पष्ट व्यवस्था गरिएको छैन। 
 
शासकीय स्वरुप
 
संसदीय प्रणालीमै आधारित शासकीय स्वरुप मस्यौदामा राखिएको छ। राष्ट्रियसभा, प्रतिनिधिसभा र प्रदेशसभाका सदस्यहरु सम्मिलित निर्वाचक मण्डलबाट ५ वर्षका लागि चुनिने संबैधानिक राष्ट्रपतिलाई राष्ट्रप्रमुखको रुपमा राखिएको छ। एउटै व्यक्ति लगातार तेस्रो कार्यकालका लागि उम्मेद्वार बन्न नपाउने व्यवस्था छ।
 
प्रतिनिधिसभाको बहुमतबाट निर्वाचित प्रधानमन्त्रीले प्रमुख कार्यकारी वा सरकार प्रमुखका रुपमा रहने व्यवस्था छ। केन्द्रमा बढीमा २५ सदस्यीय मन्त्रीमण्डल र प्रदेशमा प्रदेशसभाको सदस्य संख्याको २० प्रतिशत नबढ्नेगरी मन्त्रीमण्डल हुने व्यवस्था गरिएको छ।
 
मन्त्री बन्नका लागि संसद् सदस्य हुनुपर्ने व्यवस्था छ। गैरसांसद् मन्त्री भएमा ६ महिनाभित्र संसद् सदस्यता प्राप्त नगरेमा पदमा बहाल नरहने प्रावधान राखिएको छ।
 
प्रदेश प्रमुख राष्ट्रपतिद्वारा नियुक्त हुने व्यवस्था छ। प्रदेश प्रमुख एक प्रदेशमा एकपटकलाई मात्रै हुने गरी प्रावधान राखिएको छ।
 
दुई सदनात्मक व्यवस्थापिका
 
दुई सदनात्मक व्यवस्थापिका रहने व्यवस्था गरिएको छ। प्रतिनिधिसभामा कुल सदस्य संख्या २७५ रहने छ र यसमध्ये प्रत्यक्ष निर्वाचित १६५ रहने छन् भने समानुपातिकबाट ११० सदस्य रहने छन्।
 
त्यसैगरी  राष्ट्रियसभा कुल सदस्य संख्य ४५ रहने छ। प्रदेशबाट समान संख्याका आधारमा निर्वाचित ४० जना र मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट मनोनित ५ जना रहने व्यवस्था छ। ४० जनाको चयन प्रदेशसभाका सदस्य र स्थानीय निकायका प्रमुखहरु सम्मिलित निर्वाचक मण्डबाट एकल संक्रमणीय मत प्रणालीका आधारमा निर्वाचित हुनेछ।
 
हरेक प्रदेशमा जनसंख्याका आधारमा २१ देखि ४५ सदस्यीय प्रदेशसभा हुने व्यवस्था छ भने  ६० प्रतिशत प्रत्यक्ष निर्वाचित, ४० प्रतिशत समानुपातिकबाट हुने छन्।
 
स्थानीय निकायको पुर्नसंरचना
 
स्थानीय निकायको पुर्नसंरचना हुने प्रतिवद्धता मस्यौदामा उल्लेख छ। संविधान जारी भएको ६ महिना भित्र गठन हुने स्थानीय निकाय पुर्नसंरचना आयोगको कार्यकाल एक वर्षको हुनेछ।
 
गाउँपालिका र नगरपालिका प्रमुख/उपप्रमुखबाट निर्वाचित ११ सदस्यीय संयोजनकारी निकायका रुपमा जिल्लासभा रहने व्यवस्था गरिएको छ। यस्तै स्थानीय निकायअन्तर्गत गाउँपालिका १७ र नगरपालिका २१ सदस्यीय रहने व्यवस्था मस्यौदामा छ। 
 
संक्रमणकालीन ब्यवस्था
 
संबैधानिक निकायका पदाधिकारी पुर्ननियुक्ती भइरहनु नपर्ने व्यवस्था गरिएको छ। संविधान प्रारम्भ भएको एक महिना भित्र नयाँ राष्ट्रपति र प्रधानमन्त्री चुनिने व्यवस्था छ।संविधान लागू भएको ६ महिना भित्र स्थानीय निकायको अन्तरिम निर्वाचन गर्नुपर्ने प्रावधान राखिएको छ। 
 
राज्यको परिभाषा र बहुलवाद 
 
मस्यौदामा राज्यको परिभाषा यसरी राखिएको छ, 'नेपाल स्वतन्त्र, अविभाज्य, सार्वभौमसत्तासम्पन्न, धर्मनिरपेक्ष, समावेशी, लोकतन्त्रात्मक समाजवाद उन्मुख, गणतन्त्रात्मक, बहुजातीय राज्य हो।'
 
संविधानको प्रस्तावनामा उल्लिखित आधारभूत विषय समेत संघीय संसदको दुई तिहाईले संसोधन गर्न सक्ने लचिलो व्यवस्था राखिएको छ। नेपालको स्वाधिनता, सार्वभौमिता, भौगोलिक अखण्डता र जनतामा निहित सार्वभौमसत्तालाई मात्र अपरिवर्तनीय भनेर राखिएको छ। 
 
बहुलवादमा आधारित बहुदलीय प्रतिस्पर्धात्मक संघीय लोतान्त्रिक गणतन्त्रात्मक संसदीय शासन प्रणाली हुने व्यवस्था पनि संविधानमा राखिएको छ। 
 
तीन तहको अदालत 
 
केन्द्रीकृत संरचनाअन्तर्गत सर्वोच्च अदालत, उच्च अदालत र जिल्ला अदालत गरी न्यायपालिका तीन तहको हुने व्यवस्था छ।आवश्यकताअनुसार स्थानीय अदालत पछि कानुन बनाएर गठन गर्न सकिने व्यवस्था राखिएको छ।
- See more at: http://www.annapurnapost.com/News.aspx/story/14126#sthash.y40VeQLV.dpuf

Friday, May 22, 2015

पढ्नुस् ९० सालको प्रलयपछिका पल


९० सालको भूकम्पका बारेमा ब्रम्ह शमशेरले आफ्नो डायरीमा यसरी लेखेका छन् ।
bhukampanote







हरेक कम्पमा मानिसहरूको कोलाहल
भूकम्प गएको दिनदेखि हररोज साना–साना भूकम्प जान थाले । माघ ४ गतेको रातमा एक निकै ठूलो कम्प भयो । आत्तिएका दुनियाँहरूमा झन् अतास बढ्न गयो । हरेक कम्पमा मानिसहरूको कोलाहल सुनिन्थ्यो ।
bhukampanote2












दुनियाँलाई भूकम्पमा बानी पर्न थाल्यो
३–४ दिनसम्म यस्तो कोलाहल बराबर चलिरह्यो । पछिपछि यस्तो कराउने कम हुँदै गयो । दुनियाँलाई भूकम्पमा बानि पर्न गयो । बास, खानाआदि हरेक कुराको हाहाकार परेको बखतमा यस्ता साना–साना कम्पबाट झन् बढ्ता डर पर्न गयो । वरिपरिका गाउँ जताततैबाट नोक्सानको खबर आउँछ, बाहिर देशपट्टिको भने केही खबर छैन । अब के आइलाग्ने हो भन्ने ख्यालले यसै आत्तिएका पुरूषहरूको मनमा झन अतास बढ्न गयो ।
bhukampnote3





















भत्केका घरको काठबाट लास जलाए
लास जलाउनालाई दाउरा नपाउँदा धेरैले भत्केका घरको काठले जलाए । सबै घाटहरूमा ठेलंठेला भयो । मुर्दाको सद्गत गर्न नसक्नेहरूले घाटमा मुर्दाहरू त्यसै फ्याँक्न थाले । गाईबस्तुको त कुरै छाड्नु । वीरगञ्जसम्मको एक्लो टेलिफोनको लाइन पनि टुट्न गएको र चारैतिर नोक्सान पर्न गएकोले बाहिरको खबर अन्धकारैमा रह्यो । न त यताबाट खबर पठाउन सकियो ।

श्री ३ कहाँ खबर लिई घोडचढी गए । बाटो बिग्रेकोले भादगाउँ र वरिपरि गाउँको खबर पाउन कठिन भयो । केही गोलमाल वा चोरीको बचाउलाई कौसी (सरकारी ढुकुटी) झेलखाना, तोफखाना र ठूला–ठूला दरबारमा पालो थप गरियो । राती रमन घुम्ने काममा विशेष कडागरि थप अफिसर सिपाही खटाए । खोरमा थुनुवाहरू भाग्न कोशिस गरेकोमा सिपाहीको मद्दत चाँडै आएकोले भाग्न सकेनन् । हिउँदको छोटो दिन–रात चाँडै पर्यो तर बिजुली बत्ति आएन । आफ्ना नातेदारहरूको खबर लिनपनि फुर्सद भएन ।
- See more at: http://onlinepatrika.com/27360/#sthash.9P79egjM.dpuf

१९९० सालको महाभूकम्पको बयान

काठमाडौ, वैशाख २८ - केही दिनअगाडि दिनरात गरी ४१ इन्च पानी परेको थियो । बिहानीपख हुस्सु लागेको थियो । अघिल्लो दिन संक्रान्ति मनाएकाले भोलिपल्ट पनि चाडबाडको हावा अडिरहेको थियो । सोमबारे औँसी परेकाले आइमाईहरू न्वाहीधोई पूजापाठ गरी व्रत बसिरहेका थिए । चाडबाड मनाइसकेका दुनियाँ खेतमा काम गरिरहेका  थिए ।
बिहानपख हुस्सु लागे पनि घामको तेज करिब ६० डिग्री चढाउ भएको थियो । तैपनि, आँगन, कौसी र सडकमा समेत घाम तापिरहने धेरै थिए । सहर गाउँका भट्टीमा मतवाली नेवार, भोटेहरूको भीड थियो । गाउँले आफ्ना उब्जाउ बेच्न आएकाले सहरका बजारतिर भीड थियो । सरकारी अड्डामा काम भइरहेको थियो ।  पल्टन कवाज खेलिरहेका थिए ।
ठीक २ बजी २४ मिनेट २२ सेकेन्ड जाँदा अकस्मात् जमिनभित्रबाट गुडगुडे आवाज आयो र साथसाथै भूकम्प सुरु भयो- २ माघ १९९० को महाभुइँचालो उत्पत्ति भयो । यो जमिनको अपूर्व आवाजले गर्दा भूकम्प हो भन्ने ख्याल झट्ट चढ्न सकेन । पानीको लहरीझैँ जमिनमा लहरी चल्यो । पहिलो अवस्थामा भूकम्पको  वेग पूर्वबाट पश्चिम गएको अनुमान गरियो । दोस्रो अवस्थामा जमिन चक्कर खाई बटारिन थाल्यो र सोही वेगमा धेरैजसो घर इमारत लड्न गए । एक बिजुलीबत्तीको ग्लुपसमेत त्यसको सकेटबाट बाहिर उछिट्टएिको देखियो । जमिन कस्तो जोडले काँपेछ भने रूख, बोट हुरीमा परेझैँ लच्के । साना-साना बोटका टुप्पाले  जमिन छोला-छोलाजस्तो भयो ।
पोखरीको वा भाँडामा राखिएको पानी बाहिर फ्याँकियो । पोखरीका पानी ठूला-ठूला छालझैँ उछिट्टनि लाग्यो । घरको गाहारा हुरीमा ढोकाझैँ खुल्ने र बन्द हुने गर्न लागे । जमिन तल र माथि गर्दा धमाधम घर लड्न थाले । अग्लाअग्ला पुर्जा गजुर पनि खसे । तोपको बढाइँझैँ घर भत्केको भयंकर आवाज आउन थाल्यो ।  धूलोले गर्दा अन्धकार भयो । आठ-दस हात अगाडि पनि देखिन नसक्ने भयो । सहरको धूलाले गर्दा टुँडिखेलजस्ता खुला जग्गामा पनि धूलोको कुइरीमण्डल हुन थाल्यो ।
सबै मानिस खुला जग्गातिर भाग्न थाले । कोही अड्न नसकी केही चीजको भर लिई ठाडो रहे, कोही चार हातखुट्टा टेकी चौपायाझैँ भाग्न थाले । कोही छिँडीमा लुके, कोही चोकमा दौडे, औ कोही बारीतिर कुदे कहीँ कहीँ आमाहरू आफू खुलामा आइसकेपछि छोराछोरीको मायाले घरभित्र पस्न जाँदा मृत्युको मुखमा परे ।  धूलोले अन्धो पारे तापनि अतासले गर्दा सबै मानिस दौडिन थाले । साथसाथै सबले अतासमा ईश्वरको नाम लिई कराउन थाले र चारैतर्फबाट शब्द निस्कन थाल्यो । सो शब्दघर भत्केको आवाजसँग मिल्दा कस्तो भयंकर आवाज आयो होला, विचार गर्नुहोस् । खास गरी स्त्रीहरू धेरै जस्ताले धर्म हुन्छ भन्ने विचारले भाग्ने  कोसिस नगरी पानी भर्ने वा औँलाले जमिन छुनेजस्ता रकम-रकममा काम गरे । तर, भाग्ने मानिसले पनि सुख पाएनन् । सहरका ससाना सडक र गल्लीहरू धराप बन्न गए । हजारौँ घरले थिचिई मृत्युको गाँसमा परे । हजारौँ घाइते भए, टुँडिखेलमा कवाज खेलिरहेका सिपाहीहरू उभिन नसकी धेरै जस्ता जमिनमा घोप्टो  परे, पूर्वको १ खण्ड जमिन फाटिन गई पानीसमेत निक्लिन गयो ।
सोही बखत धरहरा र घन्टाघर दुवै करौँतीले काटेका रूखझैँ चिराचिरा पर्न गई दुई-तीन टुक्रा भई ढले । धरहराका टुक्राहरू त्यसको पर्खालको चक्काभित्रै परे । अरू घर-इमारत पनि त्यस्तै किसिमले ढलेका थिए । भूकम्पमा घर त्यसै ढलेर भत्कन्छन् भन्ने विचार धेरै दृष्टान्तले सिद्ध भएन ।
खेत र सडक चिराचिरा परेका ठाउँबाट पानी निस्कन थाल्यो । सबै खोलानालामा बाढी आयो । वाग्मती, विष्णुमतीलगायत खोला छिनभरमै कालो र मैलो पानीले ढाकिए । कुनै ठाउँमा ८-१० हात माथिसम्म पानी फोहोरझैँ जमिनबाट फुटी आयो । धेरै जस्ता खेत पानीले जलथल भए । जमिन फाँटिदा तातोपानी र  बालुवासमेत बाहिर आएको देखियो । बालाजू र शंखमूल नजिकमा सडक ठाउँ ठाउँमा एक-दुई हातसम्म भासिन गए । चिरान परेका ठाउँको गहिराइ ९-५० हातसम्म पनि हुन गयो, लम्बाइको त कुरै छाडून् ।
भूकम्प बन्द हुनासाथ सबै नातापाताको खोजतलासमा लागे । बेपत्ता भएकाहरूको नाम पुकार्दै सडकमा दौडन थाले ।
आ-आफ्ना घरतिर दौडन थाले । आफ्ना नाता पुरिएकाहरूले सकी-नसकी घरको रासन खोस्रन थाले । सबै आ-आफ्नै नाताहरूको खोजतलासमा लागेकाले मद्दत पाउन कठिन भयो । घरको रासबाट बाँचेकाहरूको स्वर पनि सुनिन्थ्यो, परन्तु झिक्ने पूरा सामथ्र्य भएन । यस्ताका नाताको दिल कस्तो भयो हो, कल्पना गर्न  सकिँदैन ।
यस्ता मानिस पल्टन भएका ठाउँमा अथवा काठमाडौँको टुँडिखेलमा आई कराउन थाले । एकैछिनमा सबै खुला ठाउँमा यी आत्तिएका स्त्री-पुरुषहरूले भरिए । केही बेरमै चिफसाहेब, लाठसाहेब र अरू जर्नेल अफिसर जम्मा भए । पहिलो काम त्यहाँ जम्मा भएका सिपाही फौजलाई उत्साह र आधार दिने भयो । त्यसपछि  तिनीहरूलाई ठाउँ ठाउँमा पठाउने काम गरियो ।
श्री ५ का छोरी मैयाँ दुई र श्री ३ की नातिनी मैयाँ मरेको खबर त्यहीँ आयो । सिपाहीको गठ-गठ गरी सहर र दरबारमा पुरिएका मानिस झिक्न खटनपठन भयो । तिनीहरू गई सहरमा धेरै पुरिएकालाई बचाइदिए । आफ्ना घरजहान सम्झी मनमा कस्तो ताप परेको हुँदो हो तापनि पल्टनिया जवानहरू आफ्ना कर्तव्यको  सोझो रहे । खटाइएका ठाउँमा केही गाह्रो नमानी गए- यस्तो देख्दा खुसी पनि लाग्यो । दया पनि उठ्यो ।
त्यस बखत तीन सहरमा करिब ९ हजार ५ सय सिपाही थिए । घाइतेका साथै अरू सहरका बासिन्दाले अस्पतालको कम्पाउन्ड ढाक्यो । कोही आमा आफ्ना मरेका छोराछोरीलाई हातमा लिई बाँचेका छन् कि भन्ने आशाले डाक्टरलाई देखाउन आएको अपसोची दृश्य पनि देखिन्थ्यो । त्यस बेला अस्पतालको तैनाथवाला  भएकाले घाइतेलाई औषधी पुर्‍याउने काम मलाई पर्न आयो । त्यस बखत सहरभित्र कोही-कोही सज्जनले दु:खी घाइतेको स्याहार-सम्भार गरे तापनि धेरैजसो अत्यासले होसहीन भई बसिरहे ।
श्री ५ महाराजाधिराजको सवारी त्यस बखत नागार्जुनमा थियो । केही बेरका लागि त्यहाँबाट आफ्ना नारायणहिटी दरबारमा सवारी भई- विष्णुमतीको पुल भत्केकाले छाउनीको बाटो गरी नागार्जुन फिर्‍यो । चलनबमोजिम छाउनी पास गरिबक्सँदा एक तोपको सलामी दिए । नागार्जुन दरबार पनि भत्केकाले पालमै राज  भयो ।
सहरका कोही घर र दरबारमा समेत भत्केका घरका काठपात आगामा पर्दा आगलागी हुन गयो तर हावाको जोर पनि कम भएकाले सम्हाल्न सके । खोकनाको तेल पेल्ने ठाउँमा पनि आगलागी भयो तर फिँजिन पाएन । फर्पिङको मुख्य बिजुलीघरमा भूकम्प हुँदा आफसेआफ कल बन्द हुन गयो । आगलागी नहुनु एक  भाग्यको कुरा सम्झनुपर्छ । त्यस बखतको अवस्थामा तपसिलको एक बयानबाट राम्रोसँग अनजाम गर्न सकिन्छ ।
होस-हतास हराएको दुई मिनेटपछि आँखा खोलेर हेर्दा चारैतिर प्रलयको दृश्य, प्रलयको कोकोहोलो स्वरले चिच्याउन र कराउन लागेको देखियो, सुनियो । मानिसको ता के कुरो मानिसका शरणमा परेका चराचुरुंगी पनि च्याँच्याँ र चँुचुँ गरेर आकासमा कराउन लागेका थिए । मुसोजस्तो छरितो जन्तुले पनि भाग्ने मौका  पाएन, जहाँको तहीँ थिचिएर मर्नुपर्‍यो ।
छोराको सबै शरीर किचिरहेछ, मुख पक्कपक्क बाएको इँटका अन्तरबाट अलिअलि देखिन्छ आ...मा... भनेको मलिन आवाज अलिअलि सुनिन्छ, इँट-काठ पन्छाएर छोरो झिक्ने मद्दत पुग्दैन । यस्तो अवस्थामा त्यस अभागिनी आमाको तस्बिर खिच्नुहोस्, जहानमा ११ जना थिए, सबै किचिएर मरे, एउटा पाँच वर्षको बालक  बाँच्यो । यो टुहुरोको सम्झना गर्नुहोस् । विवाह गरेको वर्ष दिन पनि भएको छैन, १५ वर्षकी बाहुनी विधवा भई, यसले छाती पिटीपिटी रोएको करुण क्रन्दनको विचार गर्नुहोस् ! जहानमा कसैको टाउको फुटेको छ, कसैको हात भाँच्चिएको छ । कुनै बेपत्ता छन् । कसैलाई खोस्रेर झिक्दै छन् । कसैलाई पोल्न लगिसके ।  घ्याम्पो फुट्यो, अन्नको गेडो छैन । घरमा मुर्दा लडिरहेछ । कात्रो किन्न जाने पसल छैन । दाउरा किन्ने पैसा छैन । घर भत्केका काठपातले मुर्दा पोलिए । बाबु मर्‍यो, छोराले किरिया गर्नलाई कपाल खौरन छुरा पाएन । पुरेत बाजेसँग किरिया गराउने पुस्तक छैन । घरले किचिएको छ वा कहाँ छ पत्तो छैन । किरियापुत्रीले  नयाँ धोती नपाएर पुरानो पटुका फेरेर किरिया बस्नुपर्‍यो । सारा सहर भत्क्यो, पसल भत्के केही किन्न पाइँदैन । रात पर्‍यो, माघे झरी पर्ने डर छ, ओत छैन ।
लास जलाउनलाई दाउरा नपाउँदा धेरैले भत्केका घरको काठले जलाए । सबै घाटमा ठेलमठेल भयो । मुर्दाको सत्गत् गर्न नसक्नेहरूले घाटमा मुर्दाहरू त्यसै फ्याँक्न थाले, गाईवस्तुको कुरै छोड्नु । वीरगन्जसम्मको एक्लो टेलिफोन लाइन पनि टुट्न गएको र चारैतिर नोक्सान पर्न गएकाले बाहिरको खबर लिई घोडचढी  गए । बाटो बिग्रेकाले भादगाउँ र वरिपरि गाउँको खबर पाउन पनि कठिन भयो । केही गोलमाल वा चोरीको बचाउलाई कौसी -सरकारी ढुकुटी) झेलखाना, तोपखाना र ठूलठूला दरबारमा पालो थप गरियो । खोरका थुनुवाहरू भाग्न कोसिस गरेकामा सिपाहीको मद्दतले भाग्न सकेनन् । हिउँदको छोटो दिन-रात चाँडै पर्‍यो  तर बिजुलीबत्ती आएन । आफ्ना नातेदारको खबर लिन पनि फुर्सद भएन ।
स-साना कम्पनहरू रातभर गइरहे । तिनको गन्ती भएन । ठूलादेखि सानासम्म सबैका खेतबारी या खुला मैदानमा बास भयो । हजारौँले ओत नपाई खुला मैदानमा बसे । त्यस रातमा खान पनि थोरैले मात्र पाए । पानी जम्न थाल्यो । त्यो रात जरोको निद्राझैँ बित्यो ।
भोलिपल्ट पुरिएका मानिस र मुर्दा झिक्ने काममा मद्दत दिन सिपाहीलाई ठाउँ-ठाउँमा पठाए । धेरै जिउँदा मानिस निस्के । एकै ठाउँमा ४०-५० जनासम्म पुरिए । अफिसरहरू गाउँगाउँमा बुझ्न गए । दृष्टान्तका लागि एक भूकम्प सेवक पं प्रेमराजको बयान :
'म घुमेका ठाउँमध्ये सानागाउँ र लुभु सहरको दृश्य अन्तको भन्दा हृदयविदारक छ । १५००-२००० छाना अघि जुन ठाउँमा थिए, आज त्यही ठाउँमा चार-पाँचवटा छाना पनि देखिँदैन । अघिको झिँगटीका छानाले भरिभराउ भएको बस्ती अहिले पटपटी फुटेको नांगो डाँडो देखिइरहेछ ।'
वीरगन्जसम्मको टेलिफोनको लाइन भोलिपल्टै खुल्यो । परन्तु, रक्सौलभन्दा परको खबर केही पाइएन । वीरगन्ज स्वाहा भएको छ । रक्सौलदेखि माथिसम्म रेल लाइन टुटेको छ । नेपाल सरकार लाइट रेलवेमा पनि नोक्सान पर्न गएको छ । तारको खुट्टा टुटेकाले हिन्दुस्तानपट्टकिो केही खबर छैन ।
महाभूकम्प गएको दिनैदेखि हररोज साना-साना भूकम्प जान थाले । ४ माघ राती अर्को निकै ठूलो कम्प गयो । आत्तिएका दुनियाँमा झन् हतास बढ्न गयो । तीन-चार दिनसम्म यस्तो कोलाहल बराबर चलिरह्यो । पछि-पछि यस्तो कराउने कम हुँदै गयो । दुनियाँलाई भूकम्पमा बानी पर्न गयो ।
@नेपाल साप्ताहिकबाट



प्रकाशित मिति: २०७२ वैशाख २८ ०७:२२ 

भूकम्पले सिकाएको पाठः घर बनाउँदा भुल्नै नहुने १४ शुत्र : जानी राखौ

राजधानी काठमाडौं लगायत प्रमुख शहरहरुमा निर्माण गरिएको भौतिक संरचना ९० प्रतिशत मापदण्ड विपरीत रहेको पाइएको छ । मापदण्ड अनुसार भौतिक संरचना निर्माण गर्नको लागि सरकारले राष्टिय भवन संहिता लागू गरेपनि वेवास्था गर्दै घर तथा भवन निर्माण गर्दा ठूलो क्षति भएको शहरी विकास तथा भवन निर्माण विभागले जनाएको छ ।
यी कुरालाई दृष्टिगत गरी सरकारले २ तला भन्दा अग्ला घर बनाउन र असार सम्म निर्माणमै प्रतिबन्ध लगाएको छ ।
नेपाल भुकम्पीय जोखिमको दृष्टिकोणले जोखिमपूर्ण रहेको भन्ने विषयमा सरकार जानकार नै थियो । भुकम्पबाट हुने सम्भावित दुर्घटनालाई न्यूनिकरण गर्नको सरकारले राष्टिय भवन संहिता पनि लागू गरेको थियो । ०९० र ०४५ सालमा आएको विनाशकारी भूकम्पलाई पनि नेपालीहरुले भोगेका थिए । तर सरकारले पर्याप्त रुपमा पूर्व तयारी नगर्दा भूकम्प पीडितहरुले समयमा उद्दार र राहत पाउनबाट बञ्चित हुन पुग्यो ।
नेपाल लगाएत अन्य विभिन्न मूलुकहरुमा विगतका समयमा गएका ठूला र विनाशकारी भूकम्पहरुबाट भएको क्षति र विनाशालाई नेपाली नागरिकहरुले नजिकबाट नियाल्दै आएका थिए । नेपालमा पनि आउन सक्ने पूव अनूमान थियो । तर त्यसको लागि आवश्यक पूर्वतयारी गर्नको लागि सरकार तदारुपता देखाएन । भुकसकम्प जाँदा भूकम्प आफैले ठूलो धनजनको क्षति गदैन । तर, मानव निर्मित भौतिक संरचनाहरु कमजोर भएर भत्कदा भने ठूलो जन धनको क्षति हुन पुग्यो । वैशाख १२ गते गएको भूकम्पले पनि भौतिक संरचहनाकै कारण आठ हजार भन्दा बढीको ज्यान गएको छ । भुकम्प जाँदा हुने दुर्घटनालाई न्यूनिकरण गर्नको लागि नेपाल सरकारले भवन आचार संहिता पनि लागू गरेपनि पैसा र पावर संहिता विक्रि हुंदा ठूलो संख्यामा मानवीय र भौतिक क्षति हुन पुग्यो ।

सरकारले अगाडी सारेको भवन आचार संहितालाई प्रभावकारी बनाउँनको लागि कार्यक्रमहरु निरन्तर रुपमा सञ्चालन गदै आएपनि कार्यान्वन पक्ष निकै फितलो देखियो । आम नागरिकहरुमा जनचेतनाको कमीले गर्दा सरकारले अगाडी सारेको भुकम्प सम्बन्धी आचार संहिता न्यून रुपमा मात्रै कार्यान्वय आएको शहरी विकास तथा भवन निर्माण विभागले बताएको छ ।
नयाँ भौतिक संरचनाहरु निर्माण गर्दा भुकम्पीय जोखिम युक्त भवन निर्माण गर्नुपर्ने हुन्छ तर दुई तल्लाहको नक्सा पास गराएर सात तल्लासम्मका घर काठमाडौंमा निर्माण भएका छन् ।

अर्कातिर आवासिय तथा व्यापारिक प्रयोजनका लागि निर्माण गरिएका गंगनचुम्बी भवनहरु पनि भूकम्पबाट तहस नहस भएका छन् । यसरी निर्माण भएका कतिपय घर तथा भौतिक संरचनाहरु भवन आचार संहिता विपरीत मनलाग्दी ढंगबाट निर्माण भइहरेका छन । जसको कारण मानिसहरुले निर्माण गरेका भौतिक संरचनाबाट वैशाख १२ गते आएको भूकम्पबाट ठूलो संख्ेयामा जन धनको क्षति हुन पुग्यो ।

पिल्लरवाला घर वनाउँदा विचार पुर्‍यायाउनु पर्ने मुख्य कुराहरुः
१. जगमा हात्तीपाईलाको सतहमा वा त्यस भन्दा ठिक माथी सवै पिल्लरका हात्तीपाईलाहरुलाई जोड्ने गरी टाईविम राखिन्छ ।

२. डिपिसि लेवल जमिनको सतह भन्दा करिव १.५ पिटको उचाईमा राख्ने र ९”ईन्च वाई १२” ईन्च साईजको टाईविम राखिन्छ ।

३. २ वा ३ तल्ला सम्मको घरको लागी पिल्लरको साईज न्यूनतम १२÷१२ ईन्चको राख्ने र डण्डीहरु चाँही १६ मि.मि. को ४ वटा र १२ मि.मि. को ४ वटा गरी जम्मा ८ वटा राखिन्छ ।

४. दुईवटा पिल्लरहरुको दुरी वढीमा ४.५ मिटर (१५फिट )भन्दा वढी राख्नु हुँदैन ।

५. पिल्लरहरु सिधा–सिधा लाईनमा पर्नेगरी राख्नु पर्दछ । यसरी सिधा लाईनमा पिल्लरहरु नभएको खण्डमा भुकम्पको समयमा त्यसले प्रभावकारी रुपमा काम गर्न सक्तैन ।

६. पिल्लर तथा विमका डण्डीहरु गाँस्दा कम्तिमा डण्डीको मोटाईको ६० गुणा खप्टिने गरी गाँस्नु पर्दछ ।

७. सवै पिल्लरहरुलाई विमहरुले जोड्नुका साथै विमहरुको जोर्नी पिल्लर भएको ठाउँमा नै पारि गाँस्नु पर्दछ ।

८. पिल्लरको साईज विमको साईज भन्दा केही ठुलो हुनुपर्दछ । किनभने विमका सम्पुर्ण डण्डिहरु पिल्लरको डण्डीको भित्रपट्टी पर्ने गरी वाँध्नु पर्दछ ।

९. गारोहरुको भुकम्पिय सुरक्षाका लागी झ्यालको तल र माथी (सिल र लिण्टल) लेवलमा एवं ढोकाहरुको माथी लिण्टल लेवलमा ढलान पेटी (कंक्रिट व्याण्ड )हरु राख्नु पदर्छ ।

१०. ढलानका लागी प्रयोग गरिने फर्मा तथा अडाउन प्रयोग गरिने टेकोहरु राम्रो संग मिलाएर राख्नु पर्दछ, अन्यथा ढलान तथा बिम लच्कन गई घर कमजोर हुन सक्दछ ।

११. सवै विम र स्ल्यावहरुको ढलान एकै पटक हुनुपर्दछ ।

१२.पिल्लर विम र स्ल्यापहरुमा मसलाको मात्रा १:१.५:३ (१ सिमेन्ट, १.५ वालुवा, ३ गिटी )सो भन्दा वढ्ता हुनगरी राख्नु पदर्छ ।

१३. मसलामा ठिक्क मात्रमा पानीको प्रयोग गर्नुपदर्छ, पानीको मात्रा वढी हुँदा कंक्रिटले आवश्यक अनुसारको मजवुदी प्राप्त गर्न सक्तैन ।

१४. कंक्रिट ढलानको समयमा मसला मुछ्नको लगी सकेसम्म मिक्सर तथा खाँद्नका निमित्त भाईब्रेटरको प्रयोग गर्नुपदर्छ