पर्यटन

अन्नपूर्ण बेस क्याम देखी मुस्ताङ सम्मको पैदल यात्रा – २०६९

२०६९ साल कार्तिक ११ गते शनिवारको दिन बागलुङ बजारदेखि  पाँच जना साथीहरु अन्नपूर्ण आधार शिवरको यात्रा गर्ने लक्ष्य लिएर विहानको खाना बागलुङ बजारमा खाई यात्राको शुभारम्भ बसपार्क देखि शुरु भयो ।
एक घण्टाको गाडीको यात्रपछि हामी  कास्की जिल्लामा पर्नेे नयाँपुलमा उत्रियौ र हाम्रो गन्तव्य अन्नपूर्ण आधार शिविर तर्फको १२ दिनको रमाईलो यात्रा शुभाराम्भ यहि बाट शुरु गरियो ।  
यो कालिगण्डकी र विरेठाँटी जोड्ने पुल हो । देशको मनग्गै आम्दानी हुने यस स्थानमा सरकारद्वारा कुनै सहयोग नभएको र यहाँका जनताहरुबाट नै आफ्नै श्रमदानबाट बनाएको कच्ची बाटो रहेछ। जसमा दिनहुँ हजारौको संख्यामा विदेशी तथा स्वदेशी पर्यटकहरु हिड्ने बाटो रहेछ । पर्यटकहरुलाई आवतजावतमा सजिलो होस भन्ने उद्देश्यले  ठाउँ ठाउँमा नक्साको  बोर्डहरु राखिएको रहेछ जसका कारण हामीलाई  अगाडी बढ्न धेरै मद्दत पुग्यो ।
trekking Map 
 यसै क्रममा  हामी केहि समयको उकालो हिडेपछि एउटा सुन्दर होटल सुपर भ्यू मा पुग्दछौ र केहि बेरको बार्तालाप पछि यात्रालाई निरन्तरता दिन्छौ ।  दिनभरीको हिडाई अर्थात पहिलो दिनको भएर होला हामीलाई थकान र भोक पनि लागेकोले घान्द्रुकको चौतारीमा  बसी  खाजा खान्छौ । 
Ghaundruk Village 
 केहिवेरको थकान मेटाए पछि हामीलाई  बाटो काट्न धेरै सजिलो भयो । भरिया संग रमाईलो गर्दै नाँच्दै र गाउँर्दैै उकाली चढ्दै थियौ । यसरी  विभिन्न रमणिय ठाउँहरु अवलोकन गर्दै, जाँदै थियौ कति चाँडै साझ परिसकेको हामीलाई थाहा नै भएन एक्कासी आकासबाट सूर्यको विलिनता हुन लाग्यो वेलुकाको  ६.०० बजी सकेको रहेछ त्यस पछि हामीले पहिलो दिनको बसाईको घान्द्रुकको भ्यू पईन्ट होटलमा गरियो ।
विहानै उठेर घान्द्रुकबाट देखिने हिमालहरुको अवलोकन गरी हाम्रो यात्रा सुरु हुन्छ । 
kimrong river
यस घान्दु्रक गाउँ १९४० मिटरको उचाईमा अवस्थित छ । यस ठाउँमा विभिन्न ठाउँबाट आएका स्वदेशी तथा विदेशी पर्यटकहरु थुप्रैमात्रमा देखिन्थे । यो अन्नपूर्ण पदयात्रा मार्गमा पर्ने घान्दु्रक पर्यटकीय सुन्दर ठाउँ हो । यस ठाउँमा गुरुङ जातिको बाहुल्यता रहेको छ । यसरी हाम्रो यात्रा निरन्तर अगाडी बढ्छ । यस ठाउँमा परम्परागत घट्टाबाट कुटानी पिसानी हुदो रहेछ सानो खोलामा धेरै घट्टहरु देखिन्थे । यसरी हामी किमरुङ खोला पुग्दछौं । 
यस खोलामा कच्चि पुलको प्रयोग गरिएको रहेछ ।
यस खोलाले यहि वर्षातको समयमा २० ओटा खच्चर बगाएको जानकारी हामीले पायौं । यसरी हामी अर्को निकै सुन्दर ठाउँ छोमरुङ
chhumrong village
जसको उचाई २०७० मिटर रहेका त्यस ठाउँमा निकै राम्रा होटल,रेस्टुरेन्ट, रिर्सोट रहेछ । यसरी हामी सिनुवा पुगी आजको रात त्यहि बस्ने निधो गर्दछौ । 
विहानै उठेर हाम्रो यात्रा सिनुवा देखि सुरुहुन्छ । यस ठाउँको उचाई २३६० मिटर रहेछ । एक घण्टाको हिंडाइ पछि सिनुवा रेष्टुरेन्टमा पुगी चिया खाजा खान्छौं ।
senuwa Restaurant 
यस ठाउँ देखि ३ घण्टाको यात्रा पछि हामी बेम्बो भन्ने ठाउँमा पुग्दछौं जसको उचाई २३१० मिटर रहेछ । यस ठाउँमा बाँसको घारी नै घारी भएको जंगलले भरिएको रहेछ । यस ठाउमा बासको लठ्ठी काटेर हाम्रो यात्रा अगाडी बड्छ । बेम्बो देखि ३ घण्टाको हिडाइ पछि पुगिदो रहेछ हिमालयन । यस ठाउँमा पर्यटकहरुलाई कुनै समस्या परेको खण्डमा हेलिकप्टर राख्ने ठाउँ सम्म बनाइएको रहेछ । यसरी मोदी खोलाको तिरैतिर विभिन्न किसिमका हिमशृङ्खला र सुन्दर पहाडको अवलोकन गर्दै। तिन घण्टा पछी हामी पुग्छौं देउराली जसको उचाई ३२३० मिटर रहेछ । यस ठाउँमा पर्यटकहरुको घुइचो देखिन्थ्यो ।
Machhapuchre Base camp
             हामीहरुको योजना अनुसार आजको बसाई यहि गर्ने थियो । तर समय भएको हुनाले हामी माछापुच्छे« आधार सिबिर पुग्ने निर्णय गयौं । आधा घण्टाको बसाई पछी हाम्रो यात्रा अगाडी बद्छ । २ घण्टाको साझको कठिन हिडाई पछि हामी पग्छौ माछापुच्छ्रे आधार सिविर ।
जुन ठाउँ ३७०० मिटर उचाइमा रहेछ । निकै उचाईमा भएको कारणले गर्दा हामीहरुलाई राती केहि असजिलो महशुस भएको थियो । 
Annapurna Himal
सबेरै उठेर हामी लाग्छौ अन्नपूर्ण आधार सिविर यस ठाउँबाट ४५ मिनेट लाग्ने रहेछ । चारैतिर चादी जस्तो टल्कने हिउँले ढाकीएको ठाउँमा पुग्दा जुन सुकै पर्यटकहरुको मन आक्रशित नगराउने  कुरै भएन बाटोभरी हिउँभएको यस ठाउँमा पुग्दा निकै खुसी थियौ हामीहरु किनकी हाम्रो पहिलो गन्तव्य थियो यस ठाउ । विहानको चिसो  मैसम सगै  चिया पिउदै यस ठाउँको आनन्द लियौं हामीहरुले । अन्नपुर्ण आधार शिविर र माछापुछ्र्रे आधार शिविर नजिकै पदोृ रहेछ ।

           जसले गर्दा सबै हिमालहरुको अबलोकन अन्नपुर्ण बेस क्याम्पबाटै गर्न सकिदो रहेछ । यस ठाउँबाट देखिने सुन्दर हिमालहरुमध्ये मुख्य हिमाल निलगिरी, तिलिचो, अन्नपुर्ण हिमाल जुन हिमाल तिलिचो र गंगापुर्ण हिमालको विचमा अवस्थित रहेछ । यस हिमालको उचाई ८०९१ मिटर रहेछ । यो माछापुछ्रे हिमाल हो ।
                                         
Machhapuchare Himal
अन्नपुर्ण हिमालको उत्तर मध्ये नेपालमा अवस्थित यो हिमाललाई मानिसहरुले भगवान शिवको पवित्र स्थान भनेर श्रदा गर्ने भएको हुनाले यस हिमाल आरोहण गर्ने अनुमति रहेनछ । यस हिमाल अन्नपुर्णको मुख्य भागमा दक्षिण तर्फबाट बाहिर लम्किदै गएको छ र पुर्व सिमालाई अन्नपुर्ण संरक्षण क्षेत्रको रुपमा रहेछ । यस हिमाल माछाको पुच्छरजस्तो हुनाले यसलाई माछापुछे्र नामाकरण गरेको पाईन्छ भने अंग्रेजीमा यसलाई फिस्टेल पनि भनिन्छ । जसको उचाई ६९९३ मिटर रहेको छ । यसरी नौ हिमालको अबलोकन गरी करिव ४ घण्टाको बसाइ पछि हामीहरुले अन्नपूर्ण आधार शिविरलाई विदा मागेर हाम्रो यात्रा सुरु हुन्छ घोरेपानी तर्फ ।
अन्नपूर्ण र माछापुछ्रे आधार सिविरबाट झर्दै गर्दा बाटोमा हिउको ठुलो पहाड देखेयौ ।
snow Hill

     जहाँ ठूला ठूला २ वटा प्याल पनि रहेको छ । पहाडबाट आएको हिउँ जमेर यस ठाउँमा पहाड भएको रहेछ । यसरी हामी पुनः सिनुवा  आई बास बस्न पुग्छौं । बिहान उठेर हाम्रो यात्रा सिनुवा देखि ताडापानीसम्मको तय गरिएको थियो । चार दिन लामो हिडाईले गर्दा हामीहरुको खुट्रटाले त्यती राम्रो साथ दिएको थिएन निकै कठिन भयो । त्यो दिन जुन दिन हामी ३ जना साथीहरु गुर्जुङको जंगलमा बाटो विराएर ३÷३ घण्टा हराएका थियौं । हराउँदै गर्दा जंगलको बीचमा एउटा भेडीगोठ देखियो । यस पछि हामी पुग्छौ त्यो गोठमा र एक जना बुढाबालाई बोलाई हामी सोध्यौ ।
Chule 
प्रकृतिले र मानव समाज दुवैले मिलिजुली सिंगारीएको चुले भन्ने ठाउँमा हामी गुर्जुङ देखि २ घण्टाको उकालो यात्रा पश्चात पुग्यौ । जहाँ पर्यटकहरुले आ–आफ्नो क्यामेरामा ती सुन्दर ठाउँहरुलाई कैद गर्दै । प्रकृतिसँग झुमिरहेका थिए र हामी पनि चियाको चुस्की संगै ती ठाउँ र आफ्ना क्यामेरालाई एक अर्काको समिप्यमा देखाइरहेयौं ।  हामी चुलेलाई विदाई गर्दै २ घण्टाको उकालोबाटो तय गयौं जुन ठाउँ टाढापानी थियो । उकालो लाग्दा लाग्थ्यो पानीको स्रोत धेरै टाढा भएर नै त्यस ठाउँलाई टाढापानी भनिए जस्तो । हामी पनि त्यस उकालोमा पानीको पियास मेटाउन ग्लुकोजको धुलो चाट्दैै हामी टाढापानी पुग्यौं । जहाँ पुग्दा मिरमिरे साँझ पनि परिसकेको थियो भने हाम्रा खुट्टाहरुले पनि केहि थकानको महशुस गरिसकेका थिए ।


Tada Pani Night
यो रात हामी टाढापानीमा नै बस्ने निधो गयौं । जुन ठाउँ सोचे भन्दा पनि अधिक राम्रो रहेछ । त्यो रात हामी त्यस ठाउँको लोक सांस्कृतिसँग परिचित हुने मौका पनि पायौं जहाँ हामीहरु, पर्यटक र स्थानीयवासीसँग कम्मर मर्कायौं । यात्रा र संयोग भनौ हामी त्यस ठाउँमा पुग्दाको रात विद्युत योजनाको लागि त्यहाँका स्थानीयवासीहरुले कार्यक्रमको आयोजना गरेका रहेछन् । हामीले पनि त्यस कार्यक्रमलाई धेरथोर सहयोग गर्ने मौका पायौं भने त्यहाँको लोक संस्कृति र हाम्रो लागि मनोरञ्जनको अवसर पनि बन्यो ।
हाम्रो यात्राको सातौं जुन दिन १२ घण्टा क्यामारा र हाम्रो सहकार्य छुटेको दिन । टाढापानीबाट सुन्दरवस्ती घोरेपानी तर्फ मोडियौं ।
Pun Hill

त्यो रात घोरेपानीमौ वितायौ । विहानैकै चिसो मौसमसँगै हाम्रो यात्रा सूर्योदयका साथै हिमाल र पहाडको मनोरम दृष्य अवलोकन गर्ने तातो उच्साहसँगै पुनहिल टावर तर्फ लाग्यौ । झण्डै ४५ मिनेटको उकालो पश्चात २७५० मिटरको उचाईमा रहेको पुनहिल टावरमा पुग्यौ । सायदै यसै ठाउँमै हराइ रहुँ लाग्ने प्रकृतिको मोहक ठाउँमा पुगीयो । जसको वर्णन गर्न फेरी देवकोटा नै जन्मनु पथ्यो होला जस्तो भान पनि भयो । यस ठाउँको पर्यटकहरुको मुख्य आकर्षणमा रहेको अति सुन्दर देखिने धौलागिरी हिमाल संसारको साताँ अग्लो हिमाल हो ।
     
Dhaulagiri Himal
 धौलागिरी हिमालको छेउछाउमा रहेका अति सुन्दर हिम श्रृखलाहरु पुर्वमा कालीगण्डकीको गहिरो गल्छी, अर्को पट्टि अन्नपुर्ण हिमाल पर्दो रहेछ । धौलागिरीको साब्दिक अर्थ सेतो पहाड हुन्छ जसको उचाई ८१६७ मिटर रहेको छ । यस ठाउँको अर्को सुन्दरता गुराँस रहेछ । हामीहरु गुराँस नफुल्ने मौसममा गएकाले गर्दा गुराँसको सुन्दरता लिन सकेनौँ । 
विहानको नास्ता पश्चत हामी म्याग्दीको तातोपानी तर्फ ओरालो लाग्छौ । ओरालोमा गीत गाउँदै विदेशी पर्यटकहरुसँग भलाकुसारी गर्र्दै झयौ । दिन भरको थकान, ८ औ दिन पश्चातको शहरीया खाजा चाउमिनसँग रमायौ सिखघारामा ।
                           
Shikhha Village
यसरी हाम्रो यात्रा दाना तातोपानीमा बासबस्ने तय गरी तातोपानी तर्फ मोडियौ ।
हाम्रो यात्राको नवौं दिन तातोपानी कुण्डमा विहानको केहीपल विताएर जोमसोम तर्फ पदयात्रालाई छोडेर मोटरयात्राको तय ग¥यौ । ग्रामीण सडक त्यस माथि पनि कालीगण्डकीको तिरको कच्चीबाटो कठिन र जोखिम यात्रा गर्दै हामी दाना गाविसमा पर्ने रुप्से झरना र अन्ध गल्छीको अवलोकन गर्न पुग्यौ । यात्रालाई क्रमिक रुपमा अगाडी बढाउँदै हामी करिव ३ बजे तिर मुस्ताङको लेते गाविसमा रहेको कालापानीमा पुग्यौ र खाजा नास्तासँगै क्यामेराको स्तेमाल ग¥यौं । केहिबेरको बसाई पश्चात फेरी हाम्रो यात्रा जोमसोम तर्फ अगाडी बढ्यो ।

Lete Jomsom
जोमसोम बायाँतर्फ धौलागिरी र दायाँतर्फ निलगिरी हिमाल रहेको यस बजार कालीगण्डकीको तिरमा अवस्थित छ । यो बजार दुई भागमा विभाजन भएको रहेछ । खोलावारि नयाँ बजार र खोलापारी पुरानो बजार २८ सय मिटर उचाईमा रहेका हिमाल पारीको जिल्लाको नाम बाट चिनिने यस बजार मुस्ताङ जिल्लाको सदरमुकाम पनि हो । यो जिल्ला हवाईमार्गले जोडिएको छ । बजारमा रहेको जोमसोम हवाई मार्गबाट जोमसोम पोखराको उडान हुने गर्दछ । बिहान १० बजेपछि जोडले हावा चल्ने भएकाले सम्पूर्ण उडान बिहान १० बजे अगावै हुदोरहेछ । यस मुस्ताङ जिल्ला नेपालको सबैभन्दा कम पानी पर्ने जिल्ला भएकोले गर्दा यस ठाउँका घरहरु माटाले छाएको हुँदोरहेछ ।

Jomsom Airport
   रक क्लाइमिङ प्रशिक्षण दिइदोरहेछ । यस ठाउँमा राम्रा राम्रा होटल, रेष्टुरेन्ट बैंक तथा वित्तीय संस्थाहरु पनि रहेछ । ३००० वर्ष पुरानो इतिहांस रहेको यस मुस्ताङ जिल्ला परापुर्वकालमा नेपाल र तिब्बत बिचको ब्यापारिक मुख्य नाका रहेको बुझिन्छ । जोमसोम बजारदेखि मुक्तिनाथसम्म गाडि जाने हुनाले गाडीको टिकट लिई हामी सबैजना गाडिमा जाने निधो ग¥यौं । निकै रमाइलो यस ठाउँ कताकता मरुभूमिजस्तो देखिन्थ्यो । कालिगण्डकीको किनारैकिनार गएको यो बाटो निकै रमाइलो रहेछ । यसरी हामी कागबेनी पुग्छौं । कागवेनीमा एक माध्यमिक विद्यालय रहेछ कागबेनीलाई उपल्लो मुस्ताङको पदयात्राको सुरुवात मानिन्छ । यहाँ अन्नपूर्ण आरक्षणको चेकपोष्ट छ जहाँ उपल्लो मुस्ताङ प्रवेश गर्न विदेशी पर्यटकहरुलाई प्रवेश आज्ञा चाहिदोरहेछ । कागबेनी र कालीगण्डकीलाई विदा गर्दै हाम्रो यात्रा उकालो लाग्छ । बाटो निकै उकालो थियो किनकी हामी सिधा एक हजार उचाइमा पुग्दैछौं ।

Mustang 
बाटोमा निकै रमाइला ठाउँहरु देखिदा रहेछन् जसले गर्दा जुनसुकै पर्यटकले खुसी र आनन्द लिन सक्दछन् । यसैक्रममा हामी सबैजना गाडिबाट झरी त्यस ठाउँको तस्विरहरु लिने र अवलोकन गर्ने मौका पायौं । यस ठाउँका पहाडहरु सुख्खा देखिन्थे । हावा वेगले चलेको हुँदा हामी धेरै बेर त्यस ठाउँमा बस्न सकेनौं । यसपछि हामी झारकोट हुँदै २ घण्टापछि रानीपौवा भन्ने ठाउँमा पुग्छौं । साँझ निकै परेकाले गर्दा हामी त्यसै ठाउँको होटलमा बास बस्छौं । 
बिहान उठेर हामी मुक्तिनाथ क्षेत्रभित्र प्रवेश गर्दछौं रानीपौवादेखि २० मिनेटको दूरीमा रहेको यस क्षेत्र बौद्ध र हिन्दु धर्मका लागि महत्वपूर्ण मानिने यस ठाउँमा स्वदेशी तथा विदेशी तीर्थयात्रीहरु आउने गर्दछन । मुक्तिनाथ क्षेत्र ३७६० मिटर उचाईमा रहेको छ ।
Muktinatha Temple 
यसभित्र रहेको मुक्तिनाथ भगवानको स्वर्ण मूर्ति छायाङ्कनका लागि निषेध गरिएको रहेछ । मन्दिरको पछाडि १०८ धारा रहेको छ भने अगाडि दुईवटा कुण्डहरु रहेका छन् । जसमा स्नान गर्नाले पाप पखालिन्छ भन्ने जनविश्वास पाइन्छ । मुक्तिानाथ भगवानको हेरचाह यस ठाउँमा रहेका झुमाहरुले गर्दा रहेछन् । केही बेरको अवलोकनपछि हामीहरुले पनि पार्यौै मुक्तिनाथ भगवानको दर्शन । स्वर्गजस्तो ठाउँ अनि स्वस्थ वातावरण रहेको यस ठाउँमा दर्शन गर्न पाउँदा साँच्चिकै मुक्ति दिने नाथकै दर्शन पाएको आभाष भयो हामीलाई । यसपछि हामी ज्वालामाई भनेर चिनिने घोलम्बर गुम्बा यहाँ रहेका कहिल्यै ननिभ्ने प्राकृतिक ज्वालाहरु यस गुम्बाको मुख्य विशेषता रहेछ । यसरी मुक्तिनाथसम्मको हाम्रो यात्रा निकै खुसी उमङ्गको साथ सम्पन्न भएको हामीलाई आभाष भयो ।


=======================================================================

पर्यटन र विकास


आज सगरमाथा दिवस । नेपालमा यो दिवस दोस्रोपटक मनाइँदैछ । सगरमाथा अहिले संसारभरिकै आँखा बनेको छ । नेपालमा पर्यटक हिमाल हेर्न आउँछन् । सगरमाथा छुन र हेर्न विश्वका टाढा-टाढादेखि विदेशी पर्यटक आउने गरेका छन् । एडमन्ड हिलारी र तेन्जिङ शेर्पासँगै हिँडेको सगरमाथा उनीहरूको अवसानपछि विश्वभरिकै आकर्षण बन्यो । 'हिमचुलीको सन्देश जाओस्, त्यहाँका नेपालीको पीडा संसारले बुझोस् भन्नका खातिर सगरमाथा दिवस मनाउन थालिएको हो,' ट्रेकिङ एसोसिएसनका अध्यक्ष ज्योति अधिकारी भन्छन्, 'पहिलो हिमाल र त्यसपछिका आकर्षण हुन् अरु क्षेत्र ।'

हाम्रोमा तराई, पहाड र हिमालको आकर्षण फरक-फरक छ । यहाँ उपलब्ध सुविधा र बजार पनि फरक छ । स्थानीय समुदायको आम्दानीको क्षेत्र र पेसामा पनि निर्भर हुन्छ पर्यटन । उसबेलाको नेपाल र पर्यटन विकास निकै ढिलो थियो । ५० वर्षअघि मात्रै हेर्ने हो भने पनि नेपाल बाहिरी संसारबाट बिल्कुलै फरक थियो । सन् १९५० को दशकबाट मात्रै नेपालमा पर्यटनको ढोका खोलेको हो । तेन्जिङ शेर्पा र एडमन्ड हिलारीले सर्वोच्च शिखर सगरमाथा आरोहण गरेपछि उनीहरूसँगै नेपाल पनि बाहिरी विश्वमा परिचित भयो ।
५० को दशकदेखि अहिलेसम्म नेपालले पर्यटनमा निकै फड्को मारेको छ । अहिले संसारका आकषिर्त गन्तव्यमध्येमा नेपाल पनि पर्न थालेको छ । 'खुम्बु क्षेत्रका बासिन्दा सन् १९५० अघि जाडो महिनामा हिउँ छल्न र जडीबुटी बेच्न तराईतिर झर्थे र खाद्यान्न बोकेर फर्किन्थे', ज्योति अधिकारी भन्छन्, 'तर सगरमाथामा पर्यटक आउने क्रम बढेपछि उनीहरूको व्यवसाय नै पर्यटन बन्यो र आर्थिक स्तर पनि बढ्यो ।' हिमाली भेगका समुदायको आम्दानीको अन्य स्रोत नभएकाले उनीहरू पर्यटनमा जान बाध्य भएको अधिकारी बताउँछन् ।
उनको विचारमा तराई कृषिमा केन्दि्रत भएकाले आम्दानीका लागि तराई बाध्यकारी भएन र पर्यटनको विकास त्यहाँ पछाडि पर्‍यो । सन् २००७ लाई छाड्दा सबैभन्दा बढी पर्यटक सन् १९९८ मा आएका थिए । त्यतिबेला ४ लाख ६३ हजार विदेशी पर्यटकले नेपाल भ्रमण गरेको तथ्याङ्क नेपाल पर्यटन बोर्डसँग छ । त्यति पर्यटक आउँदा नेपालले १० अर्ब रुपैयाँ विदेशी मुद्राबाट आर्जन गरेको नेपाल पर्यटन बोर्डका कार्यकारी निर्देशक प्रचण्डमान श्रेष्ठ सम्झन्छन् । 'यसैको प्रभावले देशव्यापी रुपमा पर्यटन पूर्वाधार विकास हुनथाल्यो', उनी भन्छन्, 'राजधानीबाहिर पनि स्तरीय तारेहोटल खोल्ने र पर्यटकीय स्थलको प्रचारप्रसार हुन थाल्यो ।

आन्तरिक पर्यटन 

नेपालमा अहिलेको सहरी पुस्ता रेस्टुरेन्ट गएर खान सक्छ, पिकनिक गएर रमाउन सक्छ । पिकनिकबाट सिफ्ट भएर दुई-तीन रात कतै गएर बिताउनु नै आन्तरिक पर्यटन हो । पिकनिक गएर एक दिनैमा फक्र्यो भने त्यो पिकनिक मात्रै हुन्छ र एकरात बस्यो भने त्यो आन्तरिक पर्यटन हुन्छ । घुमघाम गर्न चाहने जमातलाई प्रोत्साहन गर्न र आन्तरिक पर्यटन व्यवसाय गरेर आम्दानी गर्न सकिन्छ भनेर देखाइदिन सरकारी नीतिको खाँचो भएको बताउँछन् नाटाका प्रमुख कार्यकारी अधिकृत डा. हरि शर्मा । 'यसका लागी विदेशीलाई मात्र पर्यटक भन्ने अहिलेको अवस्थामा परिर्वतन आवश्यक छ', शर्मा भन्छन्, 'आन्तरिक पर्यटन विकास हुने/नहुने भन्नेमा हामी पूर्वाधार निमार्णमा कति अगाडि छौं भन्नेमा निर्भर हुन्छ ।'

नेपालमा सांस्कृतिक अवलोकन बिक्रीयोग्य क्षेत्र बनेको छ र यसको पहिचान निजी क्षेत्रले नै गरेको बताउँछन् डा. शर्मा । नेपालमा पदयात्रा व्यवसाय निकै अघि बढेको र पदयात्रा नै पर्यटनको पहिलो पूर्वाधार भएको ज्योति अधिकारी बताउँछन् । 'सांस्कृतिक अवलोकन पनि हाम्रो मुख्य केन्द्र बन्नसक्छ', उनी भन्छन्, 'यहाँका गुम्बा, मन्दिर र चाडपर्व हामीले बिक्री गर्न सक्नुपर्छ ।'
नेपालमा वन्यजन्तु हेर्न बर्सेनि दुई लाख पर्यटक चितवन पुगिरहेको नेपाल पर्यटन बोर्डले जनाएको छ । तर, पहिलो गन्तव्य हिमालनै भएको अधिकारी बताउँछन् । हामी पर्यटनमा निकै माथि पुगेको देखाउँछ पाँच लाख पर्यटकमा दुई लाख चितवन पुग्नुले । यहाँ लगानी गर्न पनि निकै जोखिम भएको नाटाका हरि शर्मा बताउँछन् । 'हामीकहाँ सधैं लोडसेडिङ, चक्काजाम र राष्ट्रिय ध्वजावाहकको स्थिति रुग्ण छ ।' शर्मा भन्छन्, 'त्यसको समाधान नगरेसम्म पर्यटनमा विकास हुँदैन ।'

पाहुना हुँदै पर्यटक

पहिले-पहिले कामविशेषले वा यसै घुम्न जाँदा अरुका घरमा पाहुना लाग्ने नेपालीको चलन हो । सायद धेरैजसो अगाडि नै खबर नदिई अर्थात् तिथि नतोकी अपर्झट आउने भएकाले नै पाहुनालाई 'अतिथि' भनिएको हुनुपर्छ । यो पनि पर्यटन सुरुवातको एउटा पाटो हो । आफ्ना कुनै सम्बन्ध नभए पनि मितको समेत साइनो गाँसेर पाहुना लाग्ने चलन हाम्रो संस्कृतिको एउटा बलियो पाटो थियो । त्यसबेला पाहुनालाई भुटेको मकै खाजा दिनु र पाहुनाले त्यसका लागि सितनको इच्छा गरेर मोही, मूला वा मुङ्ग्रे केरा माग्नुले ठूलै आत्मीयताको उदाहरण देखाउँथ्यो । २०५० सम्म मौलाएको यो पाहुना संस्कृतिमा त्यसपछिका वर्षमा खासगरी माओवादी र राज्यको द्वन्द्व सुरु भएपछि, केही धाँजा फाटे । कसैको घरमा त्यतिकै पाहुना लाग्न जानु वा बास माग्नु असम्भवजस्तै थियो । त्यसपछि आन्तरिक पर्यटनमा धेरै प्रभाव पार्‍यो । त्यसबेला आफ्नै देशका अन्यत्र ठाउँमा पाहुना बन्न नपाएपछि हाम्रो आन्तरिक पर्यटन निकै खल्बलियो । 'अहिले गणतन्त्र आगमनपछि आन्तरिक पर्यटन फेरि मौलाएझैं भएको छ', हरि शर्मा भन्छन्, 'हाम्रोमा विद्यमान पर्यटन ऐन छैन, शान्ति- सुरक्षा प्रत्याभूति छैन, अनि कसरी हुन्छ पर्यटन विकास ?'

पर्यटन बोर्डको प्रथमिकतामा आन्तरिक पर्यटन अहिलेसम्म परेको छैन । विदेशी पर्यटक धेरै भित्र्याउने भनिएकाले प्रचार गरिए पनि देशबाहिर नै केन्दि्रत छ । तर,पर्यटन ब्ाोर्डका प्रचण्डमान श्रेष्ठ सो कुरा मान्न तयार छैनन् । उनी भन्छन्, '१९९८ देखि विभिन्न ठाउँमा महोत्सव गरेर स्थानीय आर्कषणलाई बेच्ने काम भइरहेको छ । विगत एक दशकमा यस्ता कैंयौं महोत्सव भइरहेका छन् । कतिपय ठाउँमा त यस्ता महोत्सव बर्सेनि हुँदै आएका छन् । यसमा पर्यटन बोर्डले सहयोग गर्दै आएकोे छ ।'

आर्थिक क्रान्ति पर्यटनबाट 

मुलुकका हरेक ठाउँका जनता अहिले पर्यटनप्रति चनाखो बनेका छन् । 'द्वन्द्वले थिलथिलिएको नेपालमा एकताका अब पर्यटक आउँदैनन् झैं भएको थियो तर अहिले फेरि अन्तर्राष्ट्रिय बजारमा नेपाल भ्रमणको गन्तव्य बन्न थालिसकेको छ,' श्रेष्ठ भन्छन् । सन् २००७ मा साढे सात लाख पर्यटक नेपाल भित्रिएको नेपाल पर्यटन बोर्डको तथ्यांकले बताउँछ । यसले पनि नेपालमा पर्यटन आकर्षण बढ्न थालेको पुष्टि भएको छ । सन् २००८ मा यो तथ्यांक करिब च्ाार प्रतिशत वृद्धि भएको छ । पर्यटनबाट आर्थिक क्रान्ति सम्भव छ ? सिक्किम सरकारको वेवसाइटमा उल्लेख भएअनुसार, अहिले पर्यटनबाट मात्रै सिक्किमले मासिक १ अर्ब १२ करोड भारु आम्दानी गर्न थालेको छ । पाँच लाख जनसंख्या भएको सिक्किममा तीन लाख २० हजार जनसंख्या प्रत्यक्ष रुपमा पर्यटनसँग जोडिएका छन् । ७० प्रतिशत मानिसको आर्थिक वृद्धि नै पर्यटन भएको उसको वेवसाइटमा उल्लेख छ । वाषिर्क पाँच लाख बढी पर्यटक सिक्किम पुग्ने गरेको वेवसाइटमा छ ।

नेपाल पर्यटन बोर्डका कार्यकारी निर्देशक प्रचण्डमान श्रेष्ठ गन्तव्य आकर्षणलाई उद्गम बजारमा प्रस्टीकरण नगरी आन्तरिक र अन्तर्राष्ट्रिय पर्यटक नबढ्ने बताउँछन् । 'भौतिक र पर्यटकीय पूर्वाधारको विस्तारीकरण र स्तर बढाउने हो भने आन्तरिक र अन्तर्राष्ट्रिय पर्यटक बढ्ने थिए,' श्रेष्ठ भन्छन्, 'स्थानविशेषमा स्थानीय व्यक्तिलाई आर्थिक उर्पाजनका काम गराउने र निजी स्तरलाई पर्यटकीय पूर्वाधारका लागि लगानी आकर्षण गर्न लगाउने हो भने हाम्रोमा पर्यटनको राम्रो विकास हुन्छ ।' नेपालमा पाइलैपिच्छे घुम्ने ठाउँ छन् । विश्वभरका मानिस भन्छन्, प्राकृतिक सौन्दर्य अवलोकनका निम्ती नेपाल उल्लेखनीय गन्तव्य हो । दस लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ सरकारले सन् २०११ लाई पर्यटन वर्ष घोषणा गरेको नेपाल पर्यटन बोर्डले जनाएको छ । 


रकारले जलस्रोत र कृषिपछि पर्यटनलाई तेस्रो प्राथमिकतामा राखेको छ । यसअघिको माओवादी सरकारले पनि पर्यटनलाई प्राथमिकताको उच्च तहमा राखेको थियो । यसले पर्यटन व्यवसायीलाई मात्र होइन अन्तर्राष्ट्रिय पर्यटन बजारमा पनि सकारात्मक सन्देश प्रवाह गरेको थियो । अब हेर्न बाँकी छ, भर्खरै बनेको नयाँ सरकारले के नीति ल्याउँछ पर्यटनबारे ? पर्यटन सबैभन्दा छिटो विकास हुनसक्ने उद्योग हो । पछिल्लो अध्ययनले विश्वभर नै यसको वाषिर्क वृद्धिदर ५ प्रतिशत देखाएको छ, जुन अन्य उद्योगको तुलनामा निकै बढी हो ।



===============================================================================

भोला थापा
अध्यक्ष
प्रेसिडेण्ड ग्रुप अफ कम्पनिज
पर्यटन व्यवसाय राज्यले सञ्चालन गर्ने होइन

विगत लामो समयदेखि पर्यटन क्षेत्र नेपालको आर्थिक विकासको आधार बन्दै आएको छ । नेपालमा पर्यटक आउने क्रम शुरू एपछि यस व्यवसायसँग सम्बन्धित अन्य थुप्रै  क्षेत्र क्रमशः फस्टाउन थालेका हुन् । होटल, रेष्टुराँ, ट्राभल एण्ड टुर्सजस्ता क्षेत्रको माग पनि पयर्टक आगमनसँगै बढ्न थालेको हो । अर्कोतर्फ नेपालका करीब सबै जिल्ला सदरमुकाममा सडक यातायात पुगिसकेको छ । सडक यातायात पुग्न नसकेका थुप्रै स्थानमा लामो समयदेखि हवाई सेवा सञ्चालन भएको छ । यी हरेक क्षेत्रको विकासका पछाडि पर्यटन क्षेत्रको उल्लेख्य योगदान छ ।


पछिल्ला दुई दशक नेपालले निरन्तर असहज परिस्थितिको सामना गरिरहेको छ । यो अवस्था सुधारोन्मुख रहे पनि अन्योल कायमै छ । यसबीचमा नेपालको विकास प्रक्रिया अवरूद्ध हुँदा पर्यटन आगमनमा भने त्यति निराशाजनक अवस्था देखिएन । भाग्यवश नेपाल आउने पर्यटकहरू द्वन्द्वको समयमा पनि सुरक्षित रहे । राजनीतिक द्वन्द्वले नेपालका धेरै क्षेत्रमा नकारात्मक प्रभाव पार्‍यो , जसले गर्दा नेपालीहरू कामका लागि विदेशिने क्रम पनि बढ्यो । विदेशिएका नेपालीको कमाइबाट हाल देशले रेमिट्यान्स प्राप्त गरिरहेको छ । आयात तथा अन्य व्यवसायबाट पनि राज्यले फाटफुट आम्दानी गरिरहेकै छ । तर, नेपालका लागि यो दिगो आम्दानीको स्रोत होइन । अर्थात् पर्यटन नै नेपालको उन्नतिको मुख्य आधार बन्न सक्छ । 



प्राकृतिक रूपमा प्राप्त नेपालका पर्यटकीय क्षेत्रको निर्माण गर्न ठूलो मानवीय परिश्रम खर्च  भएको छैन । नेपालमा यस्ता थुप्रै स्थान छन्, जसका बारेमा स्वयम् नेपालीहरूलाई पनि जानकारी छैन । पर्यटकीय स्थलका रूपमा हामीले केवल काठमाडौं उपत्यका, पोखरा, चितवनजस्ता सीमित स्थानलाई मात्र चिनेका छौं । नेपालमा यीभन्दा धेरै सुन्दर र राम्रा ठाउँ पनि छन् । ओझेलमा परेका त्यस्ता स्थानको बारेमा खोजी हुनु जरूरी छ ।



पूर्वाधार निर्माणको क्षेत्रमा नेपाल अझै पनि पछाडि छ । यातायात पर्यटन क्षेत्रको विकासका लागि पहिलो पूर्वाधार हो । कतिपय दुर्गम स्थानमा सञ्चालित हवाई यातायात पनि सर्वसुलभ हुन सकेको छैन । त्यसमाथि नेपाली हवाई यातायात जोखिमपूर्ण मानिन्छ । अर्कोतर्फ, नेपालमा अधिकांश पर्यटक ‘ट्रेकिङ’का लागि आउने गर्छन् । उनीहरूका लागि सुरक्षित र सुविधासम्पन्न ‘ट्रेकिङ रूट’हरू बनाइदिनु पर्छ । ट्रेकिङ रूट सञ्चालन गर्ने सिलसिलामा पनि विवादहरू देखिने गरेका छन् । पर्यटन व्यवसायीहरू हाल सञ्चालनमा रहेका ट्रेकिङ रूटहरू मास्नुहुँदैन भन्छन्, तर स्थानीयवासीहरू मोटरबाटो ल्याउनुपर्छ भन्छन् । दुवैको माग जायज रहेको यस अवस्थामा राज्यले अग्रसरता लिई समस्या समाधान गरिदिनु पर्छ । अर्थात् गाउँ–गाउँमा विकास निर्माणका काम पुर्‍याउँदै नयाँ ट्रेकिङ रूटहरूको  खोजी गरिनुपर्छ । 



‘एडभेञ्चर टुरिजम’मा नेपालको बढी सम्भावना छ । भौगोलिक बनावटका कारण पनि साहसिक पर्यटनमार्फत नेपालले धेरै पर्यटक भित्र्याउन सक्छ । प्याराग्याइडिङ, साइक्लिङ, म्याराथन, स्काई डाइभिङजस्ता खेलहरू पछिल्लो समय नेपालमा लोकप्रिय बन्दै गएका छन् । यस प्रकारका खेलमा अन्तरराष्ट्रिय प्रतियोगिताहरू पनि आयोजना हुन थालेका छन् । यसको निरन्तरता र प्रवर्धनका लागि योजना बनाउनु आवश्यक छ । कुनै पनि देशमा जाँदा पर्यटकले पैसा तिरेको हुन्छ । र त्यसवापत उसले उचित सेवा–सुविधाको अपेक्षा गर्छ । हामीले असुल गरेको पैसाबराबरको सेवा–सुविधा पुर्‍याउन सकेनौ भने ऊ पुनः नेपाल आउने सम्भावना कम हुन्छ । यसले नेपालको दीर्घकालीन पर्यटन विकासमा बाधा पुर्‍याउँछ ।



पर्यटन व्यवसाय राज्यले सञ्चालन गर्ने होइन । निजीक्षेत्रलाई यस व्यवसायप्रति आकर्षित गरी सहज वातावरण बनाउने दायित्व उसको हो । आज नेपालमा जति पर्यटक आइरहेका छन्, त्यसमा ९० प्रतिशत योगदान निजीक्षेत्रको छ । सरकारसँग अन्तरराष्ट्रियस्तरको बलियो वायुसेवा छैन । विदेशी निजी कम्पनीहरूले पर्यटकलाई सेवा दिइरहेका छन् । नेपालको आन्तरिक उडानमा पनि निजीक्षेत्रबाट सञ्चालित वायुसेवा कम्पनीहरूले ठूलो योगदान गरिरहेका छन् । ट्राभल तथा टूर्स कम्पनीहरूको पनि यसमा उत्तिकै योगदान छ । 



घुमफिरको वातावरण बनाइदिने, कानूनी बाधा–अड्चन फुकाइदिने तथा आधारभूत पूर्वाधार निर्माण गरिदिनेबाहेक नेपालको पर्यटन व्यवसायले राज्यबाट बढी अपेक्षा गरेको छैन । आफ्नो क्षमता कमजोर हुँदा अन्तराष्ट्रियस्तरमा कति गाह्रो हुने रहेछ भन्ने अनुभव पछिल्लो समय भइरहेको छ । आफ्नै ध्वजाबाहक विमानको अभावमा विदेशी कम्पनीको भर पर्नुपरेको छ । ती कम्पनीहरूले नेपालको हितभन्दा बढी आफ्नो व्यापारिक स्वार्थ हेरेका हुन्छन् । अलिकति पनि यात्रु कम भएको बेला उनीहरूले आफ्नो रूट परिवर्तन नगर्लान् भन्न सकिन्न । वायुसेवा क्षेत्रमा दीर्घकालीन नेतृत्व नहुँदा यस्तो अवस्था आएको हो । राज्यले व्यापार गर्ने होइन, यहाँका निजीक्षेत्रबाट सञ्चालित वायुसेवा कम्पनीले ठूला र अन्तरराष्ट्रियस्तरमा उडान भर्न सक्ने जहाज किन्न सक्ने वातावरण बनाइदिएको भए आज राज्यमाथि आक्रोश बढ्ने थिएन । 



नेपालले हरेक प्रकारका पर्यटकलाई व्यवस्थापन गर्न सक्दैन । विलासी प्रकृतिका पर्यटकहरूका लागि नेपालमा पर्याप्त सुविधा–सम्पन्न होटलहरू छैनन् । तर, पर्वतारोहण, ट्रेकिङ, शाहसिक खेलजस्ता कामका लागि पर्यटक आउँदा पनि नेपालले सजिलै व्यवस्थापन गर्न सक्छ । त्यसकारण हाम्रो क्षमता बढि भएको क्षेत्र पहिचान गर्दै त्यस प्रकृतिका पर्यटक आकर्षित गर्नेतर्फ सरोकारवाला निकायको ध्यान जानुपर्छ । 



अस्थिर राजनीतिका कारण देशको अर्थतन्त्रतर्फ ध्यान पुग्न सकेको छैन । केही अघिसम्म हाम्रोभन्दा पनि कमजोर अर्थतन्त्र भएका मुलुकहरूले पर्यटन क्षेत्रको विकासमार्फत ठूलो आर्थिक फड्को मारिसके । त्यसबाट हामीले पाठ सिक्नुपर्छ । पछिल्लो समय पर्यटन क्षेत्रमा केही सकारात्मक प्रभावहरू देखिन थालेका छन् । यसलाई निरन्तरता दिनुपर्छ । यस अवधिमा पर्यटन व्यवसायीले सिकेको सबैभन्दा ठूलो पाठ राजनीतिक स्थिरता हुँदा मात्र कुनै पनि क्षेत्रको विकास सम्भव छ भन्ने हो । यस तथ्यतर्फ राजनीतिक नेतृत्व गम्भीर हुनुपर्छ ।


सम्भावनाका क्षेत्र धेरै छन्



सुमन पाण्डे
प्रमुख कार्यकारी अधिकृत
फिस्टेल एयर



प्राकृतिक वातावरण, भौगोलिक विविधता तथा हावापानीका कारण नेपाल विश्वमा एक उत्कृष्ट बसोवास स्थल र गन्तव्य मुलुकका रूपमा चर्चित छ । विशेष गरी पानी, पर्यटन र जनशक्ति नेपालको आर्थिक भविष्यका आधार हुन् । यसको अत्यधिक उपयोगमार्फत नेपालले आर्थिक उपार्जन गर्न सक्ने सम्भावना छ । हाल ठूलो सङ्ख्यामा जनशक्ति विदेशिएको छ । उसलाई देशमा तत्काल रोजगारी उपलब्ध गराउन सक्ने अवस्था छैन । महँगो प्रविधिका कारण जलविद्युत् उत्पादनमार्फत तत्काल आर्थिक उपार्जन गर्न सक्ने अवस्था पनि छैन । त्यसकारण नेपालले तत्काल आम्दानी गर्न सक्ने एकमात्र क्षेत्र पर्यटन हो । पर्यटन उद्योग कम लगानीमार्फत ठूलो आर्थिक उपार्जन गर्न सक्ने क्षेत्र हो । 


झण्डै २ हजार माइल लामो हिमालयमध्ये करीब ८ सय माइल नेपालको उत्तरी सिमानामा अवस्थित छ । छोटो दूरी भए पनि फेरबदल भइरहने हावापानीका कारण हिमाल, पहाड र तराईको उत्कृष्ट संरचना निर्माण भएको छ । त्यस संरचनाभित्र नदीनाला, तालतलैया, जङ्गल, वन्यजन्तु, जडीबुटी, फाँट तथा मरूभूमिसम्म छ । सानो मुलुक भए पनि विशाल भौगोलिक अन्तरमा समेत नभेटिने प्रकारको विविधता हुनु नेपालको विशेषता हो । अर्कोतर्फ २ सय फीटदेखि २९ हजार फीटसम्मको भौगोगिक बनावट एउटै मुलुकमा हुन प्रकृतिबाट प्राप्त ठूलो उपहार हो । वास्तवमा यिनै तŒव पर्यटकीय दृष्टिमा आकर्षक

वस्तुहरू हुन् । 


विश्वमा साहसिक पर्यटनको आकर्षण बढिरहेको छ । पर्यटकहरू स्वच्छ हावापानीमा रमाउन चाहन्छन् । साहसिक पर्यटनका लागि नेपाल केन्द्रस्थल मानिन्छ । संसारभरका हरेक पर्वतारोही वर्षको एकपटक नेपाल आउने गर्छन् । यहाँ सन्तुलित हावापानी छ । अर्थात्  थुप्रै देशले ‘कुलिङ’ र ‘हिटिङ’मा वर्षेनि अर्बौं रुपैयाँ खर्च गर्छन् । तर, नेपालको अधिकांश स्थानमा प्राकृतिक रूपमै सो सुविधा उपलब्ध छ । ती देशले घरकोठा तथा कार्यालयलाई वातावरण अनुकूलित गराउन खर्च गर्ने पैसा नेपालले अन्य क्षेत्रमा लगानी गर्न सक्छ । यस तथ्यलाई ध्यान दिँदै नेपाललाई अन्तरराष्ट्रिय व्यावसायिक केन्द्रका रूपमा विकास गर्न सकिन्छ । विदेशी लगानी आकर्षित गरी नेपाललाई अन्तरराष्ट्रिय आर्थिक केन्द्रका रूपमा विकास गर्न सक्ने सम्भावना छ ।



नेपालमा शैक्षिक तथा अनुसन्धानमूलक पर्यटनलाई विकास गर्न सकिन्छ । स्वच्छ वातावरण तथा पर्याप्त वनस्पति र जडीबुटी रहेका कारण यहाँ अत्याधुनिक प्रयोगशालाहरू खुल्न  सक्छन् । सँगै, अन्तरराष्ट्रिय स्तरका अध्ययन संस्थान स्थापना गरी त्यसमार्फत पनि पर्यटक भित्र्याउन सकिन्छ । नेपालमा ठूलाठूला स्वास्थ्य संस्था तथा शिक्षण अस्पताल स्थापना गरि त्यसमार्फत स्वास्थ्यसँग सम्बन्धित अनुसन्धानकर्ता तथा अन्य पर्यटकलाई आमन्त्रित गर्न सकिन्छ । अन्तरराष्ट्रियस्तरका सभा–सम्मेलन, गोष्ठीजस्ता गतिविधिका लागि नेपाल उपयुक्त मुलुक हो । नेपाल खेलाडीहरूका लागि उपयुक्त हावापानी भएको मुलुक हो । क्षेत्रीय तथा अन्तरराष्ट्रिय खेलकुद प्रतियोगिता नियमित आयोजना गर्ने वातावरण बनाउन सक्ने हो भने त्यसमार्फत पनि ठूलो सङ्ख्यामा पर्यटक भित्र्याउन सकिन्छ ।  



यी लक्ष्य पूरा गर्न राज्यसँग स्पष्ट योजना चाहिन्छ । निर्धारित समयमा यस स्थानसम्म पुग्ने हो भने सोअनुरूपको दिर्घकालिन योजना बनाउनु आवश्यक छ । अर्कोतर्फ, योजना कार्यान्वयन नभएसम्म हामीले लक्ष्य प्राप्त गर्न सक्दैनौं । लक्ष्य प्राप्तिका लागि ‘स्पष्ट भिजन’ चाहिन्छ । ‘लक्ष्य’, ‘योजना’ र ‘भिजन’ ती तीनओटा पक्षलाई पूरा गर्न सके पर्यटन क्षेत्र नेपालको आर्थिक मेरुदण्ड बन्न सक्ने सम्भावना छ । तर, बिडम्बना नेपालले आजसम्म सपनामात्र देखिरहेको छ । ती सपना पूरा गर्न आवश्यक दीर्घकालीन योजना र कार्यान्वयनको बाटोमा जान सकेको छैन । 



हामीले पर्यटन क्षेत्रलाई प्राथमिकताका आधारमा वर्गीकरण गरी निश्चित बाटो पहिल्याउन सकेका छैनौं । नेपालले जुन क्षेत्रका पर्यटक बढी भित्र्याउन चाहेको हो, त्यसका लागि आवश्यक पूर्वाधारलगायत क्षेत्रको विकास गर्नेतर्फ ध्यान दिनुपर्छ । नेपालमा उच्च क्षमताको अन्तरराष्ट्रिय विमानस्थल छैन । आफ्नै ध्वजावाहक विमानको अभाव छ । आन्तरिक उडानहरू विश्वसनीय र सुरक्षित बन्न सकेका छैनन् । अन्तरराष्ट्रिय कम्पनीका उडानहरू बढाउनुपर्ने आवश्यकता छ । सडक यातायातको स्तरोन्नति गर्नुपर्नेछ । संसारमा नेपालका बारे नराम्रा सन्देश प्रवाहित भइरहेका छन् । यसलाई कूटनीतिक तरीकाबाट खण्डन गर्नेलगायत काम राज्यको हो । 



पछिल्लो समय पर्यटन व्यवसायमा प्रतिस्पर्धा बढेको छ । विश्वका थुपै्र देशहरू पर्यटकलाई आकर्षित गर्न विभिन्न उपाय अपनाइरहेका छन् । सेवा–सुविधा वृद्धिदेखि पर्यटकीय स्थलको विकास र विस्तारमा खर्च गरिरहेका छन् । प्राकृतिक रूपमा सुन्दर भईकन पनि नेपालमा कम पर्यटक आउनु हाम्रा लागि भने चुनौती हो । नेपाल लामो समयदेखि राजनीतिक सङ्क्रमणमा छ ।  तर, कहिलेसम्म व्यावसायिक क्षेत्रले राजनीतिक सङ्क्रमणकालका नाममा बन्दी अवस्थामा रहने रु कहिलेसम्म घाटा सहनुपर्ने रु कहिलेसम्म कमजोर बन्नुपर्ने रु यी प्रश्नको जवाफ राज्य सञ्चालनको जिम्मा लिएका राजनीतिक नेतृत्वले दिनुपर्छ । अस्थिर राजनीतिभित्र विकासनिर्माण, स्थायित्व र शान्तिको अनुभव हुन सक्दैन । अविकसित र अशान्त मुलुकमा पर्यटक आउन सक्दैनन् । नेपालजस्तो पर्यटकीय मुलुकका लागि योभन्दा बिडम्बना के हुन सक्छ रु यो विचारणीय प्रश्न हो । 



नेपालका राज्य सञ्चालकहरूले देशको आर्थिक आवश्यकताप्रति ध्यान केन्द्रित नगर्दा धेरै समस्या देखापरेका हुन् । योजना बनाउने तर कार्यान्वयनमा अग्रसर हुन नसक्ने कमजोरी उनीहरूमा छ । राज्यले आफै काम गर्न नसक्ने अवस्थामा निजीक्षेत्रलाई परिचालन गर्नुपर्छ । 



विकास एउटै पुस्ताले गर्ने होइन, हामीले प्रारम्भ गर्न सके आगामी पुस्ताले त्यसलाई निरन्तरता दिन सक्छ । हामीले जग नै बसाउन नसके आगामी पुस्ताले पनि हालकै अवस्थाको सामना गर्नु नपर्ला भन्न सकिन्न । एकतर्फ बाहय लगानीको बाटो खुला भयो भन्दै हिँड्ने अर्कोतर्फ पञ्चायतकालीन नीति–नियममा परिमार्जन गर्न नसक्ने । राजनीतिले सम्पूर्ण देशलाई आफ्नो कब्जामा राख्ने, कर्मचारीतन्त्रले जोखिम उठाउन नमान्नेजस्ता थुप्रै समस्या छन्, जसमा तत्काल सुधार हुनु जरुरी छ ।


No comments: