गलकोट क्षेत्रको इतिहासिक पृष्टभुमि


पृष्ट
सोह्र हजार पर्वतको नामले प्रसिद्ध यस जिल्ला नेपालको एकिकरण पूर्व चौविसे राज्य अन्तर्गत पर्दथ्यो जुन समयमा कोट कोटबाट भुरे टाकुरे राजाहरूले राज्य चलाउँदथे । ती कोट मध्ये यस जिल्ला अन्तर्गत पर्ने गल्कोट बिहुँकोट, संसारकोट, अर्नाकोट र माझकोट प्रसिद्ध मानिन्थ्यो । चौधौ शताव्दीमा जुम्लामा राजाहरूले आफ्नो राज्य विस्तार गर्ने क्रममा विसं १४२९ तिर मलेबम जुम्लाको राजगद्दीमा बसेपछि पूर्व तर्फका धेरै राज्यहरू जिते । बागलुङ जिल्लाका निशेल भुजेल भन्ने चार हजार पर्वत ईलाकामा त्यस बेला मगरहरूको रजाइँ थियो । जुन समयमा रुकुममा मलेबम्का छोरा पिताम्बर र नाति जैतुबम्ले शासन चलाएका थिए । मगर राजाहरूले यस जिल्लाको राज्य प्रभावकारी रूपमा सञ्चालन गर्न रुकुमको राजधानी गोथाममा गई राजा जैतुबम्का आठ भाइ राजकुमार मध्ये एउटा मागे । राजाले जेठा छोरा बाहेक बाँकी भाइमा रोजेर लाने आज्ञा दिएकोले राती सुतेको ठाउँमा हेर्न जाँदा माहिला राजकुमार आनन्दवमको शिरतिर बढेको देखि उनलाई पिठ्यूँमा बोकेर भुजेलहरूले पर्वतमा ल्याए । पर्वतेहरूले यी राजालाई तीन नामले पुकार्दथेः( गोथामबाट ल्याएको गोथम्ब, पिठ्यूँमा बोकेर ल्याएकोले पिठम्ब र आउने राजकुमारको नाम आनन्द भएकोले आनन्द । राजाका साथमा मुडुला कार्र्की, रुचाल तथा पौडेलहरू पनि आएको किम्बदन्ती छ । विसं १५१० तिर आनन्दवम सोलेपार पर्वतका राजा बने । त्यस बेलासम्म पनि गल्कोट, बिहुँकोट र चन्द्रकोटामा भुरे राजाहरूले राज्य गर्दथे जसमध्ये बलेवा र बागलुङ माझकोट अन्तरगत र थन्थाप चन्द्रकोट अन्तर्गत थिए ।
आनन्द बम र चन्द्रबमपछि डिम्ब नामको दिलिपले आफ्नो शासनकालमा बिहुँकोट, गल्कोट र ताकमलाई विजय गरी आफ्नो राज्यलाई ४००० पर्वतबाट १४००० पर्वत पुर्र्याए । उनले राज्यमा सु (व्यावस्था ल्याउन आफ्ना माहिला भाइलाई डाँडाकोट, साहिँला भाईलाई विहुँकोट र कान्छा भाईलाई गल्कोटमा राखेका थिए । राजा डिम्ब वर्षा याममा ढोरमा र हिउँदमा ताकममा बसी राज्य चलाउँथे । ह्यामिलटनको भनाइ अनुसार गल्कोट एउटा सानो राज्य थियो जहाँ ३००० घरहरू थिए । राजाको दरबार पहाडको टाकुरामा थियो । त्यस दरबारको वरिपरि ५०० खरका झुपडीहरू थिए । यहाँ ३ वटा तामा र १ फलाम खानी थियो । खानीहरूमा केही आधिकारीक व्यक्तिहरूले मात्र काम गर्न पाउँथे । राजाको बार्षिक आम्दानी रु ३५००। थयो । यहाँका राजाले बिना कुनै युद्ध नै गोर्खाली सेना अगाडी समर्पण गरेका थिए ।
गलकोट नमकरण 
इतिहासकारका अनुसार गलकोट नामाकरण राजाहरुले हातहतियार राख्नको लागि बनाएको गोलो ठाँउ अथवा खड्ग देवताको मन्दिर रहेको स्थानमा गोलोकोत भनिने ऐतिहासिक ठाउँ रहेको र गोलोकोत बाटै गल्कोटको नाम रहन गएको प्राचीनकालमा गल्कोटे राजाले उक्त स्थानमा हातहतियार राख्ने कोत बनाएको र डाँडोमा गोलाकार भुगोलमा कोत भएकाले गोलोकोत भनिएको किंवदन्ती रहेको छ । पछि गोलोकोतबाटै शव्दमा परिवर्तन भई गोलकोट, गल्कोट रहन गएको किवंदन्ति रहेको छ ।
बिषय प्रबेश
यस गल्कोट राज्यको बारेमा इतिहासकार कर्क प्याट्रिकले पनि लेखेका छन । उनको भनाइ अनुसार गल्कोट एउटा ठूलो शहर थियो र गल्कोट नामको एउटा ठूलो किल्ला थियो । यो गल्कोट चौविसी राजाहरू मध्ये एक थियो । एक वंशावलि अनुसार राजा डिम्बका पालामा गण्डकी र कर्णाली प्रदेशका राजाहरूले दिल्लीका बादशाह कहाँ पाँच (पाँच वर्षमा सिर्तो लैजाने गर्दथे। त्यस सिर्तोमा आफ्ना राज्यमा पाइने कस्तुरीको विना, बाज, डाँफे, मयुर, चितुवाको छाला, पश्मिनाको पछ्र्यौरा आदि हुन्थे। राजा डिम्बले पनि युवराज नागबमलाई विसं १५३० तिर दिल्ली पठाए। बादशाहबाट मल्लू भन्ने पदवी दिईएको हुँदा युवराज नागबम त्यसवेला देखि नागबम मल्ल भए। यिनैको पालामा जितेको मादीखोला पूर्वको डाँडाकोटलाई त्यहाँका क्षेत्रीहरूले मल्ल राज्य भनी नाउँ राखे जुन आज पनि राजभक्ति देखाएकोले मल्ल राज्यको नामले प्रसिद्ध छ। राजा डिम्व १२० वर्ष सम्म बाँचेका थिए भन्ने जनश्रुति छ। यिनले ८४ वर्षको उमेरमा आफ्नो जेठा छोरा नागबम पनि अस्वस्थ्य भएकोले एक मात्र नाति प्रतापी नारायणलाई विसं १५९० तिर पर्वतको राज्य सुम्पे। यिनको शासन कालमा यहाँ प्रशस्त मात्रामा जङ्गल भएकोले पशुपालन र अन्य धेरै काममा महत्वपूर्ण स्थान थियो। नुन र सुन भोट तिरबाट पैठारी हुन्थ्यो। प्रतापी नारायण मल्लले राजा हुने बित्तिकै पाल्पाली राजा मुकुन्द सेनकी छोरीसँग विवाह गरे। पाल्पाली राजाले छोरीलाई कालिका देवीको मूर्ति दाईजो दिएर पठाए। हाल सो मूर्ति बागलुङ जिल्लाको सदरमुकाम बागलुङ बजार नजीक कृष्ण गण्डकी र काठेखोलाको दोभान निर एउटा हात्ती सुँडे आकारको रमणीय वनमा निर्मित मन्दिरमा कालिका भगवती देवीको नामले प्रसिद्ध छ। देवीको साथमा पाल्पाबाट खड्ग समाती आउने खड्का क्षेत्रीलाई पूजारी बनाए। राजा प्रतापी नारायणले स्थापना गरेको यस मन्दिरको पूर्व ढोका खोल्नु हुँदैन भन्ने किम्बदन्ती अझै पनि प्रचलित छ। यस मन्दिरको पूजा खर्चको निमित्त राजाले गुठी राखी दिएका थिए। राजा प्रतापी नारायणको पाल्पासँग वैवाहिक सम्बन्ध पछाडि चौविसी राज्य पाल्पा र पर्वत बलिया राज्य भए। यिनको करीव ३० वर्षको शासनकाल पछाडि आफ्ना जेठा छोरा किरातीबम मल्ललाई गल्कोट माहिला राजबम मल्ललाई पर्वत र कान्छा कल्याणबम मल्ललाई कास्कीको राज्य सुम्पी आफु काशीबास गएको पाईन्छ । पृथ्वी नारायण शाहको नेपालको एकिकरण अभियानमा गुल्मी, अर्घाखाँची, प्युठान, पर्वत कब्जा गरी अन्त्यमा बलेवा हुँदै बागलुङ समेत नेपाल अधिराज्यमा गाभियो ।
इतिहासकारले अनुसार दिएको जानकारी अनुसार प्राचीन समयको गलकोट भन्नाले पूर्वमा बिहुँको काठेखोला, पश्चिममा पाण्डवखानीको काभ्रेखोला, उत्तरमा म्याग्दी रुमको देउराली र दक्षिणमा गुल्मी मुसिकोटको निबुवाखोला सम्मका भू–भागलाई जनाउँथ्यो । प्राचीन समयमा राजा जितारी मल्ल –वि.स १६३१) देखि जगत बम मल्लको समय विस १८४४) सम्म यो भू–भाग एउटा चौबीसे राज्यहरु मध्येको एक शक्तिशाली राज्यको रुपमा परिचित थियो भने त्यसपछि राजा भरतबम मल्लको समय (२०१७) सम्म यो एउटा रजौटा अन्तर्गतको स्वतन्त्र राज्य थियो । त्यहाँका केही स्वर्थी व्यक्तिहरुको आपसी खिचातानीले गर्दा २०१९ सालतिर जिल्ला प्रशासन कार्यालय समेत त्यहाँबाट बहिर्गमन हुनाले यो एउटा गलकोट भेकका रुपमा सीमित बन्नपुग्यो । २०४६ सालको बहुदलीय प्रजातन्त्रको आगमन सँगै षड्यन्त्रपूर्ण ढङ्गले सिङ्गो गलकोट क्षेत्रलाई तीनवटा चुनावी उपक्षेत्रमा विभाजन गरियो । यो एउटा गलकोट क्षेत्रको पहिचान प्रतिको नाङ्गो हस्तक्षेप थियो । ऐतिहासिक पहिचानलाई मेटाउन गलकोटको दुदिलाभाटी, नरेठाँटी, भुस्खात, अर्गल, तारा, हिल र हरिचौरलाई क्षेत्र नं। १ मा, हटिया, मल्म, काँडेवास, सुखौरा, सल्यानलाई क्षेत्र नं २ मा र रिघा, पाण्डवखानी, सिसाखानी, दगातुन्डाँडा लगायतका गाविसलाई क्षेत्र नंं ३ मा विभाजन गरियो । यो अवैज्ञानिक र अव्यवहारिक विभाजनले एकातर्फ ‘फुटाउ र शाषन गर’ भन्ने उखानलाई पुष्टि गयो भने अर्कातर्फ बसाइ सराइलाई बढवा दियो । राज्यको हरेक सुविधाबाट बञ्चित हुनु परेपछि मुलुकमा आएको बहुदलीय प्रजातन्त्र र दस बर्से द्वन्द्वको असरले यहाँको सचेत वर्ग बहिर्गमन हुन पुग्यो । अहिले पनि यहाँका सबै गलकोटवासीले राज्यको आधारभूत सुविधाबाट बञ्चित भएको महशुस गर्नु परिरहेको छ । तसर्थ अब बन्ने नयाँ संविधानमा हामी गलकोटवासी जनता यो ऐतिहासिक पहिचानबाट विखण्डित हुन नपरोस र गलकोट क्षेत्रलाई राजनितिक रुपमा एउटामात्र क्षेत्र घोषाण गरियोस भन्ने आम गलकोटबासीको मुख्य माग हो

No comments: