Sunday, March 15, 2015

जनसहभागितामा गल्कोट दरमखोलामा पाँच मेगावाटको विद्युत परियोजना

दिलीप पौडेल
,बाग्लुङ—जिल्लाको गल्कोट क्षेत्रबाट बग्ने दरमखोला लगानीकर्ताको आकर्षणको केन्द्र बन्दै गएको छ । करिब ३० मेगावाटका आठ विद्युत daramkhola by dilpयोजनाको अध्ययन भएको सो खोलामा पव्लिक लिमिटेड कम्पनी मार्फत ५ मेगावाटको विद्युत आयोजना निर्माण गर्ने तयारी भएको छ ।
हटिया, हरिचौर, काँडेबास, मल्म गाविसका स्थानीय सहित गल्कोट क्षेत्रबाट विदेशमा बस्नेहरुको लगानीमा परियोजना अघि बढाएको गलकोट दरमखोला हाइड्रोपावर परियोजनाका संयोजक मेघ के.सी.ले बताए । त्यस क्षेत्रका करिब पाँच हजार जनतालाई सहभागी बनाएर परियोजना निर्माण कार्यान्वयनको प्रक्रियामा रहेको के.सी.ले बताए । ‘गल्कोट क्षेत्रका सबै जनताको शेयर रहने गरी पव्लिक कम्पनी मार्फत निर्माण गर्न लाइसेन्स लिइसकेका छौँ,’ के.सी.ले भने, ‘जनताको सहभागीतामा परियोजना अघि बढेको छ ।’
सो परियोजना निर्माणको लागि करिब ८५ करोड रुपैयाँ लाग्ने बताईएको छ । हटिया—२ छहरेमा बाँध बाँधेर मल्म मसुरावारीमा लगेर सो योजनाको पावर हाउस निर्माण गरिनेछ । सो परियोजनामा त्यस क्षेत्रका जनताले न्यूनतम २० हजारदेखि ५ लाख रुपैयाँसम्म लगानी गर्न सक्ने संयोजक के.सी.ले बताए । रकम तिर्न नसक्नेलाई श्रमदान गर्ने व्यवस्था मिलाउने उनले बताए । सो परियोजनामा लगानी स्थानीय सहित जापान लगायत विभिन्न मुलुकमा रहेका गैर आवासीय नेपालीले लगानी गर्ने इच्छा जाहेर गरेका छन् ।
मध्य पहाडी लोकमार्गकै छेउबाट बग्ने दरमखोलामा अनुमति लिएर विस्तृत अध्ययनसँगै पिपिएको प्रक्रियामा रहेको परियोजनाले जनाएको छ । अधिकांश परियोजनामा निजी क्षेत्रले मात्र लगानी गरेर परियोजना निर्माण गरिरहेको अवस्थामा यो परियोजनामा जनताको अधिकतम सहभागिता गराउने जनाइएको छ ।

No comments: